आरन व्यवसायमा रमाईरहेकी सुनिता, महोत्सवमा निशुल्क स्टल पाएपछि दङ्ग

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Feb 06, 2024 | 11:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनौला सपना बोकेर दैनिक हजारौं युवाहरू विदेशीइरहेको बेला नेपालमै पनि सम्भावना छ भनेर खुसी साथ आफ्नै पेशा व्यवसायमा रमाउने मान्छे कम नै भेटिन्छ्न्। धेरैजसो विवाहित दम्पति सकेसम्म जोडी नै, नसके श्रीमानलाई भएपनि विदेश पठाएर आफ्ना रहर र चाहना पूरा गर्ने उदेश्यमा भेटिन्छन् ।

तर स्याङ्जाकी  सुनिता बिक भने सुनौला दिनको आशामा श्रीमानको व्यवसायको एउटा बलियो सहकर्मी बनेकी छिन्। पुर्ख्यौली आरन व्यवसायलाई उनका पति बाबुरामले व्यवसायिक बनाएका छन्।

२ वर्षको उमेरमा आमा गुमाएका बाबुराम ९ वर्षको कलिलो उमेरदेखी नै आरनमा रमाउन थालेका हुन्। विश्वकर्मा समुदायको पुर्ख्यौली पेशाको रूपमा आरन व्यवसाय गर्दै आएका बाबुराम र सुनिता दुबै ३५ वर्षका भए। वालिङ स्थित तल्लो वालिङ बजारमा आरन उद्योग संचालन गरेका उनले आफ्नो उत्पादनको होलसेल  तथा खुद्रा बिक्रीवितरणको जिम्मा सुनितालाई दिएका छ्न्। करूवा देखि खुडासम्म उत्पादन हुने उनका उत्पादनहरू गल्याङ, पाल्पा, पोखरा, बुटबलसम्म खुद्रा तथा होलसेल बिक्री हुन्छ। 



वालिङ महोत्सवमा निशुल्क स्टल पाएपछि उनी थप उत्साहित भएकी छिन्। वालिङ् उद्योग वाणिज्य संघ र नगरपालिकाको आयोजनामा माघ १८ देखि २८ सम्म संचालन हुने महोत्सवमा करिब ४ सय स्टल छ्न्। स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीय कृषि उत्पादन र घरेलु उत्पादनलाई महोत्सवमा निशुल्क स्टल उपलब्ध गराइएको छ। उनको स्टल बि २२(B22) हो ।  महोत्सवमा उनीजस्तै ४५ जना स्थानीय व्यवसायीले निशुल्क स्टल पाएको महोत्सवका स्टल संयोजक केशव पराजुलीले बिजपाटीलाई बताए।


सुनिता आरन उद्योग दर्ता गरि ५ वर्षदेखी वालिङ बजारमा उद्योग स्थापना गरेका सुनिताका जोडीले एक जना कामदारलाई रोजगारी पनि दिएका छन् । उनको आरनमा करूवा,खुँडा, चक्कु, हँसिया, करौंती,बन्चरो , चिम्टा,फाली दाउ, कुटी लगायतका दैनिक जीवनमा अत्यावश्यक हातहतियार उत्पादन हुन्छन्। महोत्सवमा राखिएको  उनको स्टलमा विशेष छुटमा घरेलु हातहतियारको बिक्रीवितरण भैरहेको छ। देख्दै आकर्षक डिजाइनका उनका उत्पादनमा स्टल पुग्ने जोकोही पनि आकर्षित हुन्छ्न्। १० हजार सम्म पर्ने खुँडालाई उनले महोत्सवमा करिब ७ हजारमा बेच्ने गरेको बताइन् । निशुल्क स्टल पाएकोमा खुशी हुँदै सुनिता भन्छिन्, " महोत्सव हो, स्टल निशुल्क पाइएको छ, छुट त दिनै पर्‍यो नि।"

आफ्नो श्रीमानको व्यवसायमा साथ दिन पाएकोमा उनी एकदमै हर्षित छन्। "हतियार त राम्रा छ्न्, बिक्रीवितरण पनि राम्रै छ", बाबुरामप्रतिको स्नेहभाव देखाउँदै सुनिता भन्छिन " तर बुढा आगाले गर्दा डडेर  छाला गएका छ। साह्रै दु:ख छ हतियार बनाउन।"

२ छोरी र १ छोराका अभिभावक बनिसकेका उनीहरू आफ्नो व्यवसायप्रति सन्तुष्ट छन्। ५ जनाको परिवारलाई पाल्न पुग्ने गरि आरनबाटै कमाएकोमा उनलाई सन्तुष्टि छ।आम्दानी राम्रै छ। आफ्नै गाउँठाउँमा व्यवसाय गरेर खुशीसाथ जीवन निर्वाह गर्न पाएकोमा सुनिता दंग छ्न्।

"छोराछोरी हुर्कदै छन्। अब छोराछोरीको भविष्य राम्रो बनाउने आशामा दु: ख गरिरहेका छौं"  सुनिता भन्छिन् ।वालिङ उद्योगले वाणिज्य संघले जस्तै सबैले स्थानीय उत्पादन र श्रमलाई महत्त्व दिने हो भने घर चलाउन र छोराछोरीलाई राम्रो लाउन, खान, पढाउन दिन युवाहरू विदेशिन नपर्ने उनको अनुभव छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved