हराएका १७ मोटरसाइकल प्रहरीले धनीलाई बुझायो, चोरले नम्बर प्लेट फेरेर चलाएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 06:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न मितिमा हराएका १७ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४  वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्क लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको जनाइएको छ । 

प्रहरीका अनुसार कार्यालयमा प्राप्‍त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय ५२ वटा  सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

चालु आर्थिक वर्षको हालसम्म चोरीका २० वटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको जनाइएको छ । 

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन् ।

 सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved