अर्थमन्त्री पुनद्वारा चिनियाँ राजदूतसँग छलफल, ७ आयोजनामा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 01:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोश्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे ।

भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे । चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए । चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे । 

०७२ को महाभूकम्प, कोभिड–१९ महामारी र पछिल्लो जाजरकोट भूकम्पपछि चीन सरकारका तर्फबाट भएको मानवीय सहयोग स्मरणयोग्य रहेको उनको भनाइ थियो । चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । यस्तै उनले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २ सय २० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो । मन्त्री पुनले क्रस हिमालय रेलवे परियोजनालाई नेपालले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे चासो व्यक्त गरे ।

नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम जारी छ । रेल मार्ग नेपालीको सपना हो’, मन्त्री पुनले भने, ‘यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौं । छिटो काम अघि बढोस् भन्ने चाहन्छौं ।’

मन्त्री पुनले तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए । यस्तै उनले जनस्तरबाट अरु परम्परागत नाकाहरु समयसमयमा बन्द हुने गरेका गुनासो आउने गरेको भन्दै नाका बन्द हुने अवस्थाको अन्त्य होस् भन्ने चाहेको स्पष्ट गरे । टोखा–छहरे सुरुङ मार्ग निर्माणको कामलाई पनि नेपालले प्राथमिकतामा राखेकाले सम्भाव्यता अध्ययनको काम छिटो सकाउन आग्रह गरे । मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिँदै बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनलाई आग्रह गरे । यस्तै मन्त्री पुनले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आग्रह गरे ।

जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए । उनले नेपाल र चीनबीच लामो मित्रता र सहकार्य रहेको भन्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे । राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए । चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

‘चीन–नेपाल सम्बन्ध उचाइमा पु¥याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौं’, राजदूत छनले भने, ‘दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौं ।’ यस्तै उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी मन्त्री पुनलाई दिए । त्यसका लागि हवाई रुटका साथै पोखरा–काठमाण्डौं र भैरहवा–काठमाडौं उडानको समेत अनुमति चाहिने उल्लेख गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved