विशाल पानीजहाज अड्किदा एशिया र युरोप जोड्ने जलमार्ग ठप्प, नेपालमा के पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 11:33:19 AM मा प्रकाशित

laxmi  sunrise bank

विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि उक्त व्यापारिक जलमार्ग अवरुद्ध छ । अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो पानी जहाजलाई सिँधा पार्न आठ वटा डुङ्गाले प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सफल हुन सकेका छैनन् । 

इजिप्टले केही पानी जहाजका लागि आफ्नो पुरानो जलमार्ग खोलेको छ ।

व्यापारमा कस्तो असर ?

एशिया र युरोप जोड्ने यो जलमार्ग अवरुद्ध भएपछि संसारको व्यापारमा प्रभाव परेको छ । विश्वभरी नै तेलको मूल्य बढ्न थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेपालमा भने तेलको मूल्य भारतसँग मात्रै निर्भर हुने भएकाले यसमा खासै प्रभाव नपर्ने व्यापारीहरु बताउँछन् ।

एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुँदै आएको छ । २ लाख टन र ५९ मिटर चौडाईको उक्त जहाजले नहर पूरै ढाक्दा अरु सयौँ जहाजहरु रोकिएका छन् । 

उक्त नहर एक दिन मात्रै रोकिँदा खर्बौ डलरको व्यापार तहसनहस हुने अन्तराष्ट्रिय बजारका जानकारहरु बताउँछन् । समुन्द्रपार व्यापार संघका उपाध्यक्ष रामहरि कार्कीका अनुसार अफ्रिकी मूलुकमा यसको मूल प्रभाव रहने र एशियाका देशहरुमा आंशिक प्रभाव पर्ने बताउँछन् ।

सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए।

कहिले हट्ला ?

अन्तराष्ट्रिय समाचार संस्था रोएटर्सका अनुसार विज्ञहरूले उक्त पानीजहाज हटाउन अझै केही दिन लाग्ने बताएका छन् । पानामामा एभरग्रीन शिपिङ कम्पनीको नाममा दर्ता रहेर एभर गिभन नामक उक्त पानीजहाज सन् २०१८ मा बनेको हो । 

१९३ किलोमिटर लामो यो नहरबाट यस वर्ष प्रतिदिन ५१.५ का दरले पानीजहाज ओहोरदोहोर गरेका थिए । 

नेपालमा कस्तो असर पर्ला ?

नेपालको अन्तराष्ट्रिय व्यापार अफ्रिकी देशहरुमा तुलनात्मक रुपमा कमजोर छ । यसले गर्दा खासै ठूलो प्रभाव नपरेपनि उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा भने समस्या हुन सक्ने समुन्द्रपारा व्यापार संघका उपाध्यक्ष कार्कीको भनाई छ । 

‘हामीले चीनबाट ल्याउने बस्तुहरु पहिला ४५ दिनमा आउँथ्यो, अहिले ३ देखि ४ महिना लाग्दै आएको छ’ कार्कीले भने, ‘अहिले नै व्यापारीहरुले सूइज नहरमा पानीजहाज अड्किदा समस्या भयो भनेर भनिसकेका छैनन्, यसको असर केही दिनमा पक्कै देखिन्छ ।’

उक्त नहरबाट नेपालमा सोझै बस्तु आयात वा नेपालबाट उक्त नहर हुँदै बस्तु निर्यात नहुने भएपनि नेपालमा आउने कतिपय कच्चा पदार्थ चीनले सो बाटो हुँदै ल्याउने भएकाले समयमै आईपुग्ने भने शंका थपिएको उनको भनाई छ । 

‘अहिले नेपालले सिंगापूर, श्रृलंका हुँदै बस्तुहरु ल्याउँदै आएको छ, कच्चा पदार्थहरु आउने त समुन्द्रको बाटो भएरै हो’ कार्कीले भने, ‘ठूलो असर नपरेपनि समयमै कच्चा पदार्थ आईपुग्दैन कि भने शंका चाहिँ छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved