महिलाप्रति तालिवानको व्यवहारमा दुख ब्यक्त गर्दै कतारले भन्यो 'हामी उदाहरणीय मुस्लिम राष्ट्र'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 10:52:45 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारले अफगानिस्तानको सत्ता संचालन गरिरहेको तालिबानले महिलालाई शिक्षामा गरेको ब्यवहारले निराश बनाएको अभिव्यक्ति दिएको छ। युरोपियन युनियनको संयुक्त पत्रकार सम्मेलनको क्रममा कतारका विदेशमन्त्री शेख मोहम्मद बीन अब्दुलरहमान अल थानीले महिला शिक्षामा तालिबानको व्यवहारले अत्यन्त दुखी बनाएको र यस्तो व्यवहार परम्परागत र रुढीवादी भएको बताए।

विदेशमन्त्री थानीले इस्लामिक मुलुकका रुपमा नेतृत्त्व कस्तो हुनुपर्छ र त्यहाँ व्यवहार कस्तो गरिनुपर्छ भनेर उदाहरणका लागि कतारलाई हेर्न समेत आग्रह गरेका छन्। 

सत्तामा आएको हप्ता दशदिनमै तालिबानले त्यहाँका महिला तथा बालिकालाई अध्ययनको लागि बिद्यालय जानलाई प्रतिबन्ध लगाउने जस्ता निर्णय प्रति कतारले असन्तुष्टि जनाएको हो। 

युरोपियन युनियनका विदेश नीति प्रमुख योसेफ बोरेलको साथमा कतारमा गरिएको संयुक्त पत्रकार सम्मेलनमा कतारका विदेशमन्त्री थानीले तालिबानको व्यवहारप्रति कडा प्रतिकृया दिएका हुन्।  

शेख मोहम्मदले भने, 'शिक्षाको बिषयमा महिलालाई लिएर यस्तो कारवाही नगर्नलाई तालिबानलाइ आग्रह गर्न आवश्यक छ, महिलाको मुद्दामा कसरी अगाडी आउनुपर्छ र मुस्लिम देश आफ्नो कानुनको पालना कसरी गर्दछन भन्ने कुरा हामि तालिबानलाई देखाउने प्रयास गर्दैछौं"

"एक उदाहरण कतार हो, जो एक मुस्लिम देश हो, हाम्रो प्रणाली एक इस्लामिक प्रणाली हो तर हामिसँग कार्यबल, सरकार र उच्च शिक्षामा पुरुषको तुलनामा महिला धेरै छन्" उनले अगाडी थपे। 

अफगानिस्तानको सत्तामा तालिबानको पुनरागमनमा कतारले धेरै ठुलो सहयोग गरेको छ। अफगानिस्तानमा तालिबानसँगको समस्या समाधानका लागि कतारले कतारमै अमेरिका र तालिबानको वार्ता गराउनेदेखि, अफगानिस्तानबाट अमेरिकालाई फर्काउन र तालिबान सत्तामा आईसकेपछि अन्तराष्ट्रिय राजनीतिमा तालिबानलाई बिश्वास दिलाउन कतारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

तालिबानको आगमनपछि अन्य देशले अफगानिस्तानबाट आफ्ना व्यवसाय फिर्ता गरिरहेका बेला कतारले त्यहाँ कतार एयरवेजको पहिलो उडान भर्ने काम गरेको थियो। त्यस्तै अन्य देशले तालिबानसँगको सम्बन्धलाई तोडीरहेका बेला कतारका विदेशमन्त्री अफगानिस्तान पुगेर तालिबानलाई आफ्नो साथ सहयोग रहने प्रतिबद्दता जनाएका थिए।   

तालिबानको पछिल्ला गतिबिधिले उसले यस अगाडी सत्ता सम्हालेको सन १९९६ देखि २००१ सम्मको बेलाको जस्तो झल्को दिएको र यो अत्यन्त दुखद भएको कतारको जवाफ छ।

तालिबानको लागि मुख्य साझेदार तथा सहजकर्ताको व्यवहार देखाईरहेको मुलुक कतारको यस्तो अभिव्यक्तिका कारण अन्तराष्ट्रिय स्तरमै तालिबानलाई अप्ठ्यारो बनाउन सक्ने विश्लेषण गरिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved