बाढीका कारण पाकिस्तानमा मानवीय संकट : सार्कको अध्यक्ष नेपाल सरकार अहिलेसम्म किन चुप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 01:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

लगातारको वर्षाका कारण पाकिस्तानमा विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएपछि राष्ट्रिय सङ्कट घोषणा गरिएको छ । पाकिस्तान सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । 

मध्य जुलाईदेखि असामान्य रूपमा आएको वर्षाले निम्त्याएको बाढी पहिरोका कारण ज्यान जानेको संख्या १२ सय भन्दा बढी रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्यूजले जनाएको छ ।

पाकिस्तानमा परेको मानवीय संकटबारे अन्य देशहरूले चासो देखाइरहेका छन् र सहायता पनि अफर गरिरहेका छन् । पाकिस्तानसँग शत्रुतापूर्ण सम्बन्ध रहेको भनिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेतले पाकिस्तानमा देखिएको मानवीय संकट छिटै समाधान हुने आशासहित सोमवार ट्वीट गरे ।

संयुक्त राष्ट्रसँघदेखि लिएर अन्य धेरै देशहरूले पाकिस्तानमा मानवीय सहायताका लागि अपील गरिरहेका छन् । निष्क्रिय नै भएको भएपनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका हैसियतले नेपालले निभाउनुपर्ने भूमिका भने अझै निभाएको छैन ।

प्रधानमन्त्री कार्यालय पाकिस्तानको मानवीय संकटबारे चुप छ । प्रधानमन्त्री शेरबहादुर देउवाले न यसबारे औपचारिक रूपमा केही बोलेका छन्, न त गठबन्धनको बैठकमा यसबारे कुनै छलफल नै गरेका छन् । केही दिनअघि मात्र देउवाका परराष्ट्र सल्लाहकार बनेका अरुण कुमार सुवेदी पनि पाकिस्तानमा देखिएको मानवीय संकटका विषयमा औपचारिक रूपमा केही बोल्न सकेका छैनन् ।

पाकिस्तानको मानवीय संकटबारे चुप बसेर नेपालले आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिलाई थप कमजोर बनाएको भन्दै देउवा सरकारको आलोचना हुन थालेको छ ।

भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्याय निष्क्रिय नै भएपनि सार्कको अध्यक्षका हैसियतले पाकिस्तानमा देखिएको मानवीय संकटबारे बोल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

'यसबारे सरकार बोल्नुपर्छ,' उपाध्यायले बिजपाटीसँग भने, 'हामी निष्क्रिय नै भएपनि सार्कका अध्यक्ष हौँ । पाकिस्तानको समस्यालाई लिएर भारतका प्रधानमन्त्री पनि औपचारिक रूपमा दुख प्रकट गरिसक्नुभएको छ । हामी पनि बोल्नुपर्छ ।'

त्यस्तै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली पनि पाकिस्तानमा देखिएको मानवीय संकटका विषयमा सरकारको ठोस धारणा आउनुपर्ने बताउँछन् ।

'अहिलेको सरकार अन्तर्राष्ट्रिय मामिलामा निकै चुप देखिएको छ,' ज्ञवालीले बिजपाटीसँग भने, 'हामी अन्तर्राष्ट्रिय कूटनीतिका हिसाबले जिम्मेवार देश हौँ भन्ने देखाउन सरकार कहीं न कहीं चुकेको देखिन्छ । यसबारे सरकार बोल्नुपर्छ र पाकिस्तानलाई मदतसमेत गर्नुपर्छ ।' ज्ञवालीले २०७२ सालमा नेपालमा गएको भू-कम्पमा पाकिस्तानले उल्लेख्य सहयोग गरेको स्मरणसमेत गरे ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved