कतारका अमिरको नेपाल भ्रमण 'तय', नौ सम्झौतामा हस्ताक्षरको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2024 | 08:59:09 AM मा प्रकाशित

laxmi  sunrise bank

यसअघि नोभेम्बरमा नेपाल भ्रमण स्थगित भएका कतारका अमिर शेख बिन हमाद अल थानी दुई दिने भ्रमण तय भएको छ। अप्रिल २४ मा नेपाल आउने कार्यक्रम तय भएपनि भ्रमणको औपचारिक घोषणा पछि गरिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।

विकास साझेदारीसम्बन्धी कम्तीमा ९ समझदारीबारे छलफल भएर मस्यौदाहरू आदानप्रदान भइसकेको र केहीलाई अन्तिम रूप दिइसकेको उनीहरूको भनाइ छ। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा कतारको विकास सहायतालाई स्वीकार्ने निर्णय भइसकेको अधिकारीहरू बताउँछन्। कतारको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी निकाय 'कतार फन्ड फर डेभलपमेन्ट' (क्यूएफएफडी)मार्फत् नेपालले त्यस्तो सहायता पाउनेछ। हालसम्म औपचारिक रूपमा कतारबाट त्यस्तो सहायता नआएको बताइन्छ।

परिमार्जित श्रम सम्झौता, नेपाली कूटनीतिज्ञलाई तालिम दिने समझदारी, शिक्षामा सम्झौता, नेपाल र कतारबीच सांस्कृतिक सहयोग, नेपाली र कतारका युवा तथा उनीहरूका खेलकुद गतिविधि, प्रकाशन तथा सूचना सम्बन्धी प्रोटोकल, कार्यालयबीच सहकार्य गर्ने लगायतका बिषयमा सम्झौता हुने छ।  त्यस्तै कतार निजगढ विमानस्थल र बूढीगण्डकीजस्ता ठूला जलविद्युत आयोजनामा लगानी गर्न सकारात्मक देखिएको छ। 

नेपाल र कतारबीच श्रम लगायतका बिषयमा सम्झौता गर्नेगरी तयारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बिजपाटीलाई बताए। उनकाअनुसार श्रम मन्त्रालयले न्युनतम पारिश्रमिक लगायतका बिषयहरु संसोधन गरेर सम्झौता गर्ने तयारी नेपाल सरकारको छ। कतार नेपालीहरुको प्रमुख श्रम गन्तव्य मानिन्छ । 

सन् २००५ मा नेपाल र कतारबीच भएको तर खासै कार्यान्वयनमा नआएको श्रम सम्झौताको नयाँ मस्यौदा तयार पारिएको बताएका छन्। उनले उक्त सम्झौतासम्बन्धी समझदारीपत्रमा अमिरको भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गर्ने योजना बनाइएको बताए।

भ्रमणका लागि कतारको ठूलो टोली काठमाडौं आइपुग्नेछ । भ्रमणको तयारीका लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायका करिब एक सय अधिकारी आउनेबताइएको छ । नेपाल भ्रमणमा कतारका मन्त्री, उपविदेशमन्त्री, कतारी विदेश मन्त्रालयका महासचिव, अमिरका सचिव, एसियाली मामिला महाशाखाका निर्देशक, प्रोटोकल महाशाखाका निर्देशक, पत्रकार र सुरक्षाकर्मी अमिरसँग हुनेछन् ।

कतारका अमिर भियतनाम र फिलिपिन्सको भ्रमण सकेर काठमाडौं आउने भएका छन् । मध्यपूर्वमा बढ्दो तनाव र इजरायल र हमास विद्रोहीबीचको भिडन्तका कारण उनको नोभेम्बर ६ र ७ को नेपाल भ्रमण कार्यक्रम स्थगित भएको थियो । परराष्ट्र मन्त्रालयले अप्रिल २४-२५ सम्मको भ्रमणको पुष्टि गरेको छ।

नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारका सरकार तथा राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ। पछिल्ला वर्षहरूमा नेपालका दुईजना राष्ट्र प्रमुखहरूले भने कतारको भ्रमण गरिसकेको परराष्ट्र मन्त्रालयले राखेको विवरणमा देखिन्छ।

दुई पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले इमिरेट्सबाट उच्चस्तरीय भ्रमणको शृङ्खलाबद्ध रुपमा कतारको राजकीय भ्रमण गरेका छन् । सन् १९७७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारको यो उच्चस्तरीय भ्रमण हो ।

नेपालको उपहार हात्तीका दुईवटा छावा

कतारी अमिरको भ्रमणका क्रममा नेपालले कतारलाई दुई वटा हात्तीका छावा दिने भएको अधिकारीहरूले जनाएका छन्। केही वर्षअघि नेपालले कतारलाई नेपालमा पाइने एक प्रकारको बाज उपहार दिने प्रस्ताव गरेको थियो।

त्यस बेला कतारी राजदरबारले त्यसलाई स्वीकार गरे पनि नेपालमै मन्त्रालयहरूबीच समन्वय नहुँदा उक्त योजना असफल भएको अधिकारीहरू बताउँछन्। यसपालि भने नेपालले कतारी चिडियाखानाका लागि दुईवटा छावा उपहार दिन लागेको बुझिएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved