भारतको शेयर बजारमा शेयर
किनबेच भएकै दिन राफसाफ हुने प्रणाली सुरु हुने भएको छ । भारतको शेयर
बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले पाइलट
प्रोजेक्टको रुपमा यहि मार्च २८ तारिख देखि टि प्लस जिरो सेटलमेन्ट लागु गर्ने
भएको हो ।
टि प्लस जिरो सेटलमेन्ट
भनेको शेयर बिक्री गरेकै दिन बिक्रेताको खातामा पैसा आउने र शेयर किनेकै दिन
खरिदकर्ताको डिम्याट खातामा शेयर आउने प्रणाली हो । अर्थात् शेयर किनबेचको
राफसाफ कारोबार भएकै दिन हुन्छ ।
सेबीका अनुसार हाललाई यो नियम
सिमित २५ वटा शेयरको लागि मात्र लागु हुने
छ भने सिमित ब्रोकरहरुले मात्र यसमा सहभागिता जनाउन सक्ने छन्। टि प्लस
जिरो सेटलमेन्ट सबैलाई अनिवार्य भने गरिने छैन । सेबीका अनुसार टि प्लस जिरो
सेटलमेन्टको लागि छिट्टै ट्रेडिङ विन्डो हुने छ । बिहान ९:१५ देखि दिउँसो
१:३० बजेसम्म हुने कारोबार दिउँसो ४:३० बजेसम्ममा राफसाफ गरिसक्नु पर्ने छ ।
समयमा पैसा तिर्न सक्ने र जोखिम लिन सक्ने जो सुकै लगानीकर्ताले टि प्लस जिरो
सेटलमेन्टको कारोबारमा सहभागी हुन् सक्ने छन् । टि प्लस जिरो सेटलमेन्टको
लागि छुट्याईएको विन्डोमा भएका कारोबारलाई इन्डेक्स गणनामा समावेश नगराइने सेबीले
उल्लेख गरेको छ ।
सेबीका अध्यक्ष माधवी
पुरीका अनुसार एक वर्षपछि अर्थात् २०२५ को मार्चदेखि भने इन्स्ट्यान्ट सेटलमेन्ट
प्रणाली सुरु गरिने छ । यो भनेको कारोबार हुना साथ हुने राफसाफ प्रणाली हो ।
डिसेम्बर २०२४ मा सेबीले टि
प्लस जिरो सेटलमेन्ट प्रणालीको लागि आवश्यक पूर्वाधार तयार गर्न निर्देशन दिएको थियो
।
भारतीय शेयरबजारमा
इक्विटीको लागि सन् १९९० मा टि प्लस ३ सेटलमेन्ट सुरु भएको थियो । अर्थात्
शेयर किनबेचको राफसाफ शेयर कारोबार भएको ३ दिन भित्र हुनु पर्ने व्यवस्था थियो ।
त्यस्तै सन् २००३ बाट टि प्लस २ सेटलमेन्ट लागु भएको थियो । सन् २०१२ देखि
टि प्लस १ सेटलमेन्ट लागु भएको थियो । अब भने सेबीले टि प्लस जिरो सेटलमेन्ट कार्यान्वयनमा
ल्याउँन लागेको हो ।