सेबीको बोल्ड निर्णय : आजदेखि शेयर किनेकै दिन डिम्याट खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 09:03:53 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको शेयर बजारमा शेयर किनबेच भएकै दिन राफसाफ हुने प्रणाली सुरु हुने भएको छ । भारतको शेयर बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले पाइलट प्रोजेक्टको रुपमा आज मार्च २८ तारिख देखि टि प्लस जिरो सेटलमेन्ट लागु गरेको हो ।

टि प्लस जिरो सेटलमेन्ट भनेको शेयर बिक्री गरेकै दिन बिक्रेताको खातामा पैसा आउने र शेयर किनेकै दिन खरिदकर्ताको डिम्याट खातामा शेयर आउने प्रणाली हो । अर्थात् शेयर किनबेचको राफसाफ कारोबार भएकै दिन हुन्छ ।

सेबीका अनुसार हाललाई यो नियम  सिमित २५ वटा शेयरको लागि मात्र लागु हुने छ भने सिमित ब्रोकरहरुले मात्र यसमा सहभागिता जनाउन सक्ने छन्। टि प्लस जिरो सेटलमेन्ट सबैलाई अनिवार्य भने गरिने छैन  । सेबीका अनुसार टि प्लस जिरो सेटलमेन्टको लागि छिट्टै ट्रेडिङ विन्डो हुने छ । बिहान ९:१५ देखि दिउँसो १:३० बजेसम्म हुने कारोबार दिउँसो ४:३० बजेसम्ममा राफसाफ गरिसक्नु पर्ने छ । समयमा पैसा तिर्न सक्ने र जोखिम लिन सक्ने जो सुकै लगानीकर्ताले टि प्लस जिरो सेटलमेन्टको कारोबारमा सहभागी हुन् सक्ने छन् । टि प्लस जिरो सेटलमेन्टको लागि छुट्याईएको विन्डोमा भएका कारोबारलाई इन्डेक्स गणनामा समावेश नगराइने सेबीले उल्लेख गरेको छ ।

सेबीका अध्यक्ष माधवी पुरीका अनुसार एक वर्षपछि अर्थात् २०२५ को मार्चदेखि भने इन्स्ट्यान्ट सेटलमेन्ट प्रणाली सुरु गरिने छ । यो भनेको कारोबार हुना साथ हुने राफसाफ प्रणाली हो ।

डिसेम्बर २०२४ मा सेबीले टि प्लस जिरो सेटलमेन्ट प्रणालीको लागि आवश्यक पूर्वाधार तयार गर्न निर्देशन दिएको थियो ।

भारतीय शेयरबजारमा इक्विटीको लागि सन् १९९० मा टि प्लस ३ सेटलमेन्ट सुरु भएको थियो । अर्थात् शेयर किनबेचको राफसाफ शेयर कारोबार भएको ३ दिन भित्र हुनु पर्ने व्यवस्था थियो । त्यस्तै सन् २००३ बाट टि प्लस २ सेटलमेन्ट लागु भएको थियो । सन् २०१२ देखि टि प्लस १  सेटलमेन्ट  लागु भएको थियो ।  अब भने सेबीले टि प्लस जिरो सेटलमेन्ट कार्यान्वयनमा ल्याउँन लागेको हो । 

विश्वका धेरैजसो विकसित देशको शेयरबजारमा पनि टि प्लस जिरो सेटलमेन्ट नभएको अवस्थामा भारतले टि प्लस जिरो सेटलमेन्ट सुरु गरेको हो । सेबीको यो कदमलाई बोल्ड निर्णयको रुपमा लिईएको छ । हाल रुस, साउथ कोरिया, ताइवान, हंगकंग लगायतका केही देशमा केही निश्चित शेयरको लागि मात्र टि प्लस जिरो सेटलमेन्ट रहेको मनि कन्ट्रोलले उल्लेख गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved