नेपाली बीमा बजारमा अजोड ईन्स्योरेन्स लिमिटेडले बिहिबारदेखि सेवा सुरु गरेको छ । बीमा समितिबाट व्यवसायीक कारोवारको स्वीकृति पाएपछि कम्पनीले आजबाट सेवा सुचारु गरेको हो । संस्थापक शेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा कम्पनीका अध्यक्ष बिनोद बिष्टले सेवा सुरु गरेका हुन् ।
२०६४।१२।२० मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भई स्थापना भएको यस कम्पनीले मिति २०७४।०१।१५ गते वसेको विशेष साधारण सभाको बैठकको निर्णय मुताविक कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पूँजी बृद्धि गरिएको छ ।
हाल कम्पनीको संस्थापक शेयरधनी समुहमा १०४ जना रहेका छन् । कम्पनीको प्रथम संचालक समितिमा बिनोद प्रसाद बिष्ट अध्यक्ष र सञ्चालकहरुमा मिन बहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्र प्रसाद कायस्थ,सागर गुरुङ्ग रहेका छन् । बैद्यनाथ प्रसाद उपाध्याय कम्पनी सचिव रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री रहेका छन् ।