राष्ट्रिय जीवन बीमा कम्पनीबाट २ अर्ब फिर्ता माग्दै राष्ट्र बैंक

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

May 10, 2024 | 10:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले तत्कालिन बीमा संस्थानमा चुक्तापूँजी वृद्धिका लागि दिइएको रकम फिर्ता मागेको छ । बैंकले जीवन बीमा कम्पनी (तत्कालिन बीमा संस्थान) मा हकप्रद वापत १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ जम्मा गरेको थियो ।

संस्थानमा हकप्रद वापत जम्मा गरेको एक वर्ष पुग्न लाग्दा पनि कम्पनीले राष्ट्र बैंकको नाममा अझै शेयर जारी गरेको छैन । हकप्रद वापतको रकम जम्मा गरिसकेको सो अवधिसम्ममापनि शेयर नापाएपछि केन्द्रीय बैंकले रकम फिर्ता गर्न माग पत्र पठाएको हो । 

यस्तो छ घटना

बीमा ऐन २०७९ को व्यवस्था अनुसार तत्कालिन जीवन बीमा संस्थान कम्पनीमा परिण हुनुपर्ने बाध्यकारी अवस्था सृजना भयो ।  बीमा ऐन अनुसार संस्थान २०८० कात्तिक २३ गते भित्र कम्पनीमा परिणत हुनुपर्ने थियो । त्यतिमात्र होइन कम्पनीमा परिणत भएपछि कम्पनीको चुक्तापूँजी पनि ५ अर्ब पुर्याउनु पर्ने बाध्यता तत्कालिन बीमा संस्थानलाई थियो । जबकि संस्थाको चुक्तापूँजी मात्र १८ करोड १० लाख २० हजार रुपैयाँ थियो (अहिले पनि त्यहि नै छ) । 

तर पनि संस्थानलाई चुक्तापूँजी ५ अर्ब पुर्याउने भन्दा बढी दबाब कम्पनीमा परिणत हुनुपर्ने थियो । सो क्रममा संस्थानले विशेष साधारण सभा बोलायो । २०८० जेठ मा संस्थानको विशेष साधारण सभाले चुक्तापूँजी ५ अर्ब पुर्‍याउने प्रस्ताव पारित गर्यो । जसअनुसार ५ अर्ब रुपैयाँको ७० प्रतिशत ३ अर्ब ५० करोड रुपैयाँ संस्थापक र बाँकी ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने निर्णय भयो । 

सोहि अनुसार संस्थापकतर्फ ३ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन १ः१८.३३४९ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभाबाट पारित भयो ।

जसअनुसार संस्थापकतर्फका  लगानीकर्ता नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल बैंकले क्रमशः १ अर्ब ८४ करोड ७८ लाख, ९२ करोड १९ लाख ३३ हजार र ५५ करोड ३१ लाख ६४ हजार रुपैयाँ हकप्रद वापत संस्थानमा जम्मा गर्नुपर्ने थियो ।

सोहि अनुसार आफ्नो भागको रकम राष्ट्र बैंकले संस्थानमा जम्मा गरिदिएको थियो ।तर नेपाल बैंकले  भने रकम जम्मा गरेको छैन। कम्पनीमा नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत, अर्थमन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतितश शेयर स्वामित्व छ ।


यतिमात्र नभइ नेपाल बीमा प्राधिकरणले तोकेको निर्धारित अवधि कात्तिक २३ सकिनै लाग्दा सम्ममा पनि अर्थमन्त्रालयले हकप्रदको रकम उपलब्ध नगराएपछि संस्थान साविककै चुक्तापूँजी १८ करोड १० लाख २० हजार रुपैयाँमै कम्पनीमा परिणत भयो । यसमा राष्ट्र बैंकले उपलब्ध गराएको रकम पनि समावेश गरिएन। जसकाकारण कम्पनीले राष्ट्र बैंकलाई सो रकम वापतको शेयर पनि दिएन।  

जसका कारण राष्ट्र बैंकले हालसम्म कम्पनीमा चार वटा पत्र नै पठाइसकेको छ। सुरुमा राष्ट्र बैंकले हकप्रद वापत जम्मा गरेको रकम बराबरको शेयर संरचना बनाएर सोहि अनुसार शेयर प्रमाणपत्र पाउँ भन्ने व्यहोरा उल्लेख गर्दै पत्र पठायो । त्यसको केहि महिनामा सोहि व्यहोरा उल्लेख गरेर पुनः पत्र पठायो । 

यसपछिपनि शेयर प्रमाण पत्र नपाएपछि राष्ट्र बैंकले सो रकम फिर्ता माग गर्दै तेस्रो पत्र गत चैत महिनामा पठायो । राष्ट्र बैंकको लगातार पत्र पठाउने क्रम यतिमा मात्र सीमित भएन। बैशाख महिनामा पनि रकम फिर्ताको माग गर्दै फेरि राष्ट्र बैंकले पत्र पठाएको छ । 

बीमा प्राधिकरणको दोहोरो चरित्र 

सोहि विषयमा बीमा प्राधिकरणले पनि कम्पनीलाई दुई वटा पत्र पठाएको छ । फरक फरक व्यहोरा उल्लेख गरेर प्राधिकरणले कम्पनीलाई पठाएको पहिलो पत्रमा चुक्तापूँजी बृद्धिका लागि उपलब्ध भएको रकम फिर्ता नगर्नू भन्ने व्यहोरा उल्लेख छ । तर दोस्रो पटक गरिएको पत्राचारमा प्राधिकरणले रकम फिर्ता गर्न भनिएको छ । कहिले शेयर दिनु र कहिले पैसा फिर्ता दिनु भनेर प्राधिकरणले पत्र पठाएपछि प्राधिकरण कै दोहोरो चरित्र देखिएको छ । 

के भन्छ कम्पनी ? 

उता कम्पनीले भने राष्ट्र बैंकलाई केहि समय प्रतिक्षा गर्न  भनेको छ।  पछिल्लो समय अर्थ मन्त्रालयले पनि हकप्रद वापतको रकम थप्न सकारात्मक रहेको कम्पनीको भनाई छ।  

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश रिमालले अर्थ मन्त्रालयलाई पनि रकम उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरिएको बताएका छन्। 'पछिल्लो समय यसबारेमा अर्थ मन्त्रालय पनि सकारात्मक छ । सायद आगामी आर्थिक वर्षको बजेट पछि रकम उपलब्ध हुन्छ होला ।’ उनले भने, 'नेपाल बैंक चाहिं पहिलादेखि नै सकारात्मक छ।’

अर्थ मन्त्रालय र नेपाल बैंकबाट रकम उपलब्ध भएपछि शेयर संरचना मिलाउने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved