महिला र पुरुषबीचको विभेद अन्त्यको विषय चुलिएसँगै यसको प्रभाव वैदेशिक रोजगारीमा पनि देखिन थालेको छ । वैदेशिक रोजगारीमा महिलाको बढ्दो आकर्षणबाट यसको पुष्टि हुन्छ ।
नेपाल सरकारले घरायसी कामदारको रुपमा महिलालाई पठाउन प्रतिबन्ध लगाए पश्चात पनि विदेशीने महिलाको संख्या भने घटेको छैन । गत बर्षको तथ्याङ्कलाई हेर्ने हो भने उल्टै बढेको देखिन्छ । महिला श्रमिकको लागी घरायसी काम असुरक्षित भएको भन्दै सरकारले २ वर्ष अगाडी प्रतिबन्ध लगाएको थियो ।
कुन वर्षमा कति महिला विदेशीए ?
वैदेशीक रोजगारीमा जाने कामदारको संख्या घट्दै गए पनि महिलाको संख्या भने बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७४/७५ मा १९ हजार ३ सय महिलाहरु विदेशीए । यो संख्या २०७३र७४ मा १६ हजार ७ सय मात्रै थियो । १ बर्षको अन्तरालमा २ हजार भन्दा बढी महिलाहरु विदेशीएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ ।
१० बर्ष अघिको तथ्याङ्कलाई केलाउने हो भने विदेशीने महिलाहरुको संख्या एकदमै न्यून थियो । आर्थिक वर्ष २०६३/६४ मा ३ सय ९० जना महिला कामको शिलशिलामा विदेश गएका थिए । ५ वर्षमा यो संख्यमा ७ गुणाले वृद्धि भएर २०६८/६९ मा २ हजार २९५ पुग्यो ।
नेपाली महिलाको रोजाईमा पर्ने गन्तव्य मुलुकहरु
आर्थिक बर्ष २०७४/७५ को तथ्याङ्कलाई हेर्ने हो भने युएइ, मलेसिया, साउदी अरेबिया, कतार, कुवेत, बहराईन, ओमन लगाएतका देशहरुलाई नेपाली महिला कामदारले आफ्नो मुख्य रोजगार गन्तव्यको रुपमा रोजेको पाईएको छ । युएइमा मात्रै ६ हजार नेपाली महिलाहरु कार्यरत छन । यसैगरी युएइ पछिको दोस्रो गन्तव्य मुलुक मलेसियामा ४ हजार, कतारमा ४ हजार, कुवेतमा १५ सय र साउदी अरेवियामा १ हजार नेपाली महिला कामदार छन् ।
कस्तो काम गर्न जान्छन् महिलाहरु ?
नेपाली महिला सामान्यतय सरसफाई र कारखानामा काम गर्न विदेश जाने गर्छन । मलेसियाको सन्दर्भमा ८४ प्रतिशत महिलाहरु कारखानाको काममा देखिन्छ भने १४ प्रतिशत सामान्य सरसफाईमा रहेका विभागको भनाई छ । कतारमा भने ६९ प्रतिशत महिलाहरु सामान्य सरसफाईमा रहेका छन् । क्षेत्र नखुलाईएको श्रमिकमा ९६ प्रतिशत महिला कामदार साउदी अरेबियामा कार्यरत रहेका छन् । यसैगरी युएइमा ७२ प्रतिशत महिलाहरु सामान्य सरसफाई गर्ने श्रमिकको रुपमा रहेका छन् । अन्य देशहरुमा पनि नेपाली महिला कामदारहरु सरसफाईकै क्षेत्रमा विदेशीएको तथ्याङ्कमा उल्लेख रहेको छ ।
वैदेशीक रोजगारीमा मृत्यु हुने महिलाको संख्या
वैदेशीक रोजगारीको क्रममा २०६५/६६ देखि २०७३/७४ को अवधिमा १ सय २७ जना महिलाहरुले ज्यान गुमाएको वैदेशीक रोजगार विभागको तथ्याङ्कमा छ । २०७४/७५ मा २१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनुको कारणहरुमा भने सडक दुर्घटना, आत्म हत्या बढी रहेको वैदेशीक रोजगार प्रवर्दन बोर्डको भनाई छ ।