राष्ट्र बैंक भन्छ 'मूल्य वृद्धिदर यस बर्ष कै न्यून बिन्दुमा', हेर्नुस केमा मूल्यवृद्धि कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 09, 2017 | 05:44:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य वृद्धि दर घटेको तथ्यांक सार्बजनिक गरेको छ  । बैंकले आर्थिक वर्ष २०७३÷७४ को आठ महिनासम्मको तथ्याङ्कमा आधारितरहेको यस्तो विवरण सार्बजनिक गरेको हो । यो वर्षकै सबैभन्दा कम मूल्य वृद्धिदर हो । 

राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेको छ । २०७२ फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको बैंकले जनाएको छ । गत वर्षको आधार मूल्यको प्रभाव तथा  समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति घट्दै आएको बैंकले जनाएको छ ।

 समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।

  समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । यस समूह  अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.२ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.१ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved