खर्च अभावमा छोरी गुमाएका खलासी भाईको कथा !

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 13, 2019 | 09:20:41 AM मा प्रकाशित

laxmi  sunrise bank

‘ल सबैले भाडा हातहातमा लिएर बस्नोस् है ।’ राजधानीका सवारी साधानमा यात्रा गर्दा अगाडीपट्टिबाट सधैँ सुनिने आवाज हो यो । सोही आवाज दोहोर्याउदै थिए सहचालक । यात्रुले फुत्तफुत्त भाडा दिएर झरे एक मिनेट चाडो पुगिन्थ्यो र पछाडीको गाडीले भेट्टाउने थिएन अनि अगाडीको गाडीलाई पनि उछिन्न सकिन्थ्यो भन्ने ध्याउन्नमा थिए खलासी भाई । 

बेलुकीको ८ बज्नै लागेको थियो । उनी घडी हेर्दै थिए, स्मार्ट फोनमा । जति चाँडो ८ बज्छ खलासीलाई त्यति नै फाइदा, विद्यार्थी परिचय पत्रको छुट दिनु पर्दैन । यो नियम कहाँ लेखिएको छ थाहा छैन, तर काठमाडौँमा अभ्यास यस्तै छ ।

हेर्दा सानो लाग्ने तर उमेरले उनी २१ वर्ष भए रे । २ वर्षअघि विहे पनि गरेका रहेछन् । गत माघमा १० महिनाकी छोरी गुमाएछन् । बिहान गाडीमा हिड्न लाग्दा च्वाप्प मोई खाएर हिडेका थिए रे, बेलुका श्रीमतीले अत्ताल्लिदै फोन गरिछिन् । उनी हतार हतार कान्ति बाल अस्पताल पुगेछन् । अस्पतालले अर्कै अस्पताल लैजान भन्यो, पर्याप्त पैसा नभएकोले सकेनन् । रातारात पैसा जुटाउन सक्ने अवस्था पनि थिएन । भोलीपल्ट झिमिसेमै बच्चि जीवित नरहेको भनेर डाक्टर भनेपछि उनको होस हवास नै उड्यो रे । आखाभरी आँशु पार्दै भने, ‘केही भएको थिएन बिहानसम्म, कसरी एकैछिनमा त्यस्तो भयो सोच्न नै सकिन ।’ 

केही दिन काम गर्नै सकिन भन्छन् उनी । ‘फेरि काम नगरेर पनि के गर्नु, ‘मन बुझाएर पुरानै दिनचर्यामा फर्किएँ’ यति भन्दासम्म उनको आँखाबाट आँशुको वर्षात् सुरु भईसकेको थियो । गाडीमा सवार खचाखच यात्रुपनि उनको वियोगमा मन खिन्न बनाउदै थिए सायद ।

बसुन्धरा चोकमा गाडी टक्क अडियो, यात्रुहरु फुत्त फुत्त बाहिर निस्किए । ‘रात पर्यो अब नजाने है’ ड्राईभरले भने । खलासी भाई एक टिप गरौँ न त भन्दै थिए । गुरुजीले ज्यान दुखेको छ, होस् नजाने भने ।

नजिकै बिजुलीको खम्बाको छेउमा भुसे चुलो बालेर एक अर्धवैशेँ आमा चिया पकाउँदै हुनुहुन्थ्यो । मकै पनि पोल्दै हुनुहुदो रहेछ । खलासी भाईलाई चिया खाउँ न त भनेँ, उनले मानेनन् । तर भोक लागेको छ, मकै चाँही खुवाउने भए खाने भने । मैले हुन्छ भने, हामी ती आमा भएतिर लाग्यौ ।

दुई चार पाइला के सारेका थियौँ, ‘ओई च्यान्टे कता हिडेको खोई पैसा’ को अति रुखो आवाज आयो । साथमा रहेका खलासी भाईलाई च्यान्टे भन्दारहेछन् । उनी पैसा दिन गएँ, म भने बसिरहे । 

एकैछिनमा पैसा बुझाएर फर्किए, ५६ सय कमाई भएको रहेछ । उनले पनि काम गरेर १२० रुपैयाँ टाँका हानेका रे । उनको वास्तविक नाम सुदिप श्रेष्ठ हो । घर दोलखाको काटाकुटी ।

अगाडी गएर मकै अर्डर गरेँ, आमाले खोस्टामा राखेर थोरै अचारसहित मकै दिनुभयो । कुरा गर्न थाल्यौँ, ‘कति भयो काठमाडौँ आएको ?’ मैले सोधेँ । ‘तीन वर्ष भयो’ उनले भने । काठमाडौ आएको वर्षदिनपछि नुवाकोटकी केटीसँग बिहे गरेका रहेछन् । उनी होटलमा काम गर्थिन रे, ८ कक्षा पास गरेर काठमाडौँ आएकी उनीसँग सुदिपले प्रेम बिवाह गरेका रहेछन् । 

सुदिप २०७२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरी काठमाडौँ छिरेका । सामान्य परिवारका मान्छे भएर उनको उच्च शिक्षा हाँसिल गर्ने सपना पूरा भएन । उनी सुरुमा होटलमा काम गर्दारहेछन् । गाउँकै दाईको माइक्रो बसमा खलासी गर्ने अवसर आएछ । उनी राजी भएर खलासी गर्न छिरेछन् । उनलाई दिनको एक सय रुपैयाँ फाइनान्समा जम्मा गरिदिने, खाने बस्ने व्यवस्था गरिदिने र महिनाको ३५ सय तलब दिने आश्वासन दिईएको थियो रे । तर उनले महिनामा तीन हजार र खाना बस्न मात्रै पाए । खाना होटलमा र बस्न गाडीमै । राती उनी गाडीमै सुत्थे रे । 

उनलाई एक महिना काम गरेपछि मन परेन । खलासी नगर्ने बरु योग्यता अनुसारको काम खोजेर गर्ने सोच बनाए । ‘एक हप्तासम्म त काम गर्न छोडेर पत्रिकामा आएका विज्ञापन हेर्दै धेरैतिर दौडिएँ’ उनले भने, ‘तर सुरुमा तालिम लिनुपर्छ यति पैसा लाग्छ, उति पैसा लाग्छ भने सबैले, आफूसँग पैसा थिएन ।’ त्यसपछि उनी फेरि खलासी पेशामै फर्किए । 

साहुले पसिनाको मूल्य नदिँदाको पीडा राम्रोसँग अनुभव छ भन्छन् उनी । अब उनलाई वाक्क लागिसक्यो, नेपालका साहुहरु रिझाउन नसकिने रहेछ भन्छन् । गाडी लाइन जस्तै अन्यत्र पनि यस्तै त होलानी भन्ने सोच उनीमा छ । विदेश जान पासपार्ट पनि बनाए, फेरि श्रीमति गर्भवती भएपछि छोडेर जान सकेनन् । 

अहिले मासिक ७ हजार तलब पाउँदा रहेछन् । ‘दिनमा सय पचास टाँका नमारे तरकारी किन्ने पैसा पनि साथमा हुँदैन’ हाँस्दै भने । ‘पहिला म धेरै सोझो थिएँ, पेसेन्जरलाई राम्रो व्यवहार गर्थे, अहिले पनि गर्छु’ सुदिप मुस्कुराउँदै भन्छन्, ‘तर पेसेन्जरकै कारण ठूलो स्वर गर्नुपर्छ, टेर्दैनन् अनि के गर्नु ?’ उत्तर नआउने प्रश्न तेस्र्याए उनले । ‘गफ गर्ने, हास्ने, रमाइलो गर्ने पेसेन्जर भए भने हामीलाई पनि रमाइलो लाग्छ र त्यही अनुसारको व्यवहार गर्छौँ तर लागेको भाडा दिन पनि याँ त्याँ गर्ने मान्छे पनि चढ्छन् गाडीमा अनि दिक्क लाग्छ, दिनभरी गाडीमा हिडेर कराउँदा कराउँदा मुख तालु सब सुकेको हुन्छ, झन पेसेन्जर त्यस्तै किच्चक व्यबहार देखाउँछन् अनि रिस उठ्छ’ उनले भने । खलासीलाई असभ्य भाषा बोल्न बाध्य बनाउने पेसेन्जर नै हुन् भन्छन् उनी । 

माइक्रो बसको लाइसेन्स निकालेका रहेछन् । अब उनी स्कुलको भ्यान चलाउने तयारीमा छन् । श्रीमतिलाई स्कुलकै बालबच्चाको रेखदेख गर्ने काम पनि खोजेर लगाईदिएका रहेछन् । श्रीमति काम गर्ने स्कुलमै भ्यान चलाउने ड्राईभर चाहिएको रहेछ । श्रीमतिले नै कुरा गरेपछि उनी राजी भएछन् । ‘महिनाको १२ हजारमा कुरा भएको छ, बुढी ७ हजार कमाउछे’ उनले भने, ‘१९ हजार भएपछि त महिनामा १० हजार नै हजार खर्च भएपनि ९ त बच्छ नि ।’ 

सिप सिक्न ढिला गरेका कारण उनी पछुतोमा छन् । ‘सुरुमै केही सिप सिकेको भए अहिले धुस्रैफुस्रै भएर धुलो खाएर गाडीमा हिड्नु पर्दैन थियो होला’ उनी भन्छन् । ढिलै भएपनि स्कुलमा भ्यान चलाउने काम पक्कापक्की भएकोमा खुशी छन् उनी । महिना दिनपछि आमा भाई र बुबालाई काठमाडौँमै ल्याएर राख्ने र भाइलाई कम्प्युटर सिकाएर कुनै कार्यालयमा जागिर खुवाउने उनको धोको छ । ड्राइभर र खलासीलाई खासै सम्मान नहुने भएपछि उनले भाइलाई प्रतिष्ठित काम लगाउने र फलानोको दाई भनेर चिनिन पाए हुन्थ्यो भन्ने चाहाना छ । 

रात पर्यो, बुढी एक्लै छे भन्दै उनले छुट्टिने चाहाना जाहेर गरे । त्यसपिछि दर्बिलो हात मिलाएर हामी छुट्टियौँ, मैले मकैको पैसा तिरे । पतपताईरहेको धुवाँमा शरीरबाट निस्किएको कालो पसिना पुच्छ्दै ती आमाले पैसा समाइन । अनि म पनि बाटो लागेँ । 

निकै खुशी हुँदै खलासीः उर्फ सुदिप भाईले अन्तिम अन्तिममा सुनाएको योजना सुनेर मनमनै कामना गरेँ, उनको त्यो योजना सफल होस् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved