सम्राट बराल
कोरोनाको महामारी अनि त्रासका बीच भविष्यको संसय आम जनमानसमा उत्पन्न भएको कुरो नौलो रहेन । अवसरको देश भनेर चिनिने संसारको सर्वाधिक धनि राष्ट्र अमेरिकामा समेत झन्डै चार करोड बरोजगारको संख्याले यस महामारीले निम्त्याउने आसन्न आर्थिक अनि बेरोजगारीको समस्यालाई प्रतिबिम्बित गरेको छ ।
यस वैश्विक आर्थिक संकटका कारण लाखौँको संख्यामा प्रवासी नेपालीले पनि रोजगार गुमाउँदा उनीहरू पनि नेपाल फर्कने प्रयासमा रहेको बताइन्छ । फलतः साबिकको रेमिट्यान्स (विप्रेषण) मा पनि यस वर्ष १४ प्रतिशतको भारी गिरावट आउने प्रक्षेपण विश्व बैंकले गरिसकेको छ । सैँतिस खर्ब रुपैयाँ बढीको कुल गार्हस्त उत्पादन (जीडीपी) को झन्डै पच्चिस प्रतिशत हिस्सा रेमिट्यान्समा आश्रीत रहेको मुलुकको अर्थतन्त्रमा साबिकका झैँ आयातमुखी रह्यौँ भने नेपालको आर्थिक अवस्था झनै खस्कने कुरो बुझ्नलाई धेरै कपला कन्याउनै पर्दैन । यही स्थिति रहे सन् २०१९ को लगभग एघार अर्ब अमेरिकी डलर (हालको बिनिमय दर अनुसार झन्डै तेह्र खर्ब रुपैयाँ) को नेपालको व्यापार घाटा आउँदो वर्ष झनै बिकराल हुने अनुमान लगाउन सकिन्छ ।
नेपालमा भएका साना ठूला व्यापारी, संगठित तथा असंगठित सबै प्रकारका मजदुरलाई पनि आफ्नो आर्थिक भविष्य के हुन्छ भन्ने नै चिन्ता छ । जारी सरकार घोषित लकडाउनका कारण सबै तप्काका आर्थिक संकट पैदा भएका कारण ती सबै राहतका निम्ति सरकारसँग नै हारगुहार गरिरहेका छन् । महामहिम राष्ट्रपतिद्वारा हालै सार्वजनिक सरकारका नीति तथा कार्यक्रममा पनि तत्कालको राहतका बुँदा नसमेटिएको भनि सर्वत्र आलोचना पनि भयो भने अनावश्यक खर्च कटौति गर्न सरकारलाई सबैले सुझाए पनि । गत १५ गतेकोे बजेट भाषणमा सरकारले ती कुराहरू केही हदसम्म सम्बोधन गरेतापनि एक नागरिकले तप्काबाट पनि केही अठोट हुनैपर्छ भन्ने आभास हुन्छ । यस विकराल अवस्थाबाट सिर्जित संकटको सिकार आफै पनि रहेको र यस वर्षको बजेटमा सरकारबाट राहतको आसाकाबीच एक आम नागरिकको हैसियतले भावि दिनका लागि ‘मेरो घर मेरो राज्य’को अवधारण स्वरूप आफ्ना केही संकल्प कुँदी बुँदागत प्रस्तुत गरेको छु ।
१. तीन बालि आरामले लाग्ने घरबारीमा ‘आफूलाई खान पुगेकै छ के रे, धेरै दुःख किन बेसाउनु’ भनि विगत दश वर्ष देखि एक बालि मात्र लगाउँदै आएकामा अब पहिले झैँ तीन बालि नै लगाउने प्रतिबद्धता जाहेर गर्दछु । यसो गर्दा समान क्षेत्रफलको जग्गामा अन्न उत्पादन बृद्धि हुने त छँदैछ, आफ्नो संलग्नता बाहेक कम्तिमा १ जनालाई वर्षमा ५० दिनको थप रोजगारी प्रदान गर्न सकिने रहेछ भन्ने पनि मरो प्रारम्भिक अनुमान छ । त्यति मात्र नभई फलतः एक जोडा भैँसीका माउपाडालाई करिब ६० दिनलाई पुग्ने आहार पनि स्वतः उत्पादन थप हुन सक्ने अड्कल काटेको छु । अहिलेका श्रमशक्ति अधिकतर कृषककै छोराछोरी भएका कारण रोजगारीको बढी आवश्यकता भएका व्यक्ति पहिचान गरी आफ्नो घरको कृषिश्रममा अवसर प्रदान गर्ने पनि योजना बनाएको छु । परिणामतः वार्षिक करिब दुई खर्ब रुपैयाँ बढीको कृषि पैदावार नेपाल भित्रिने गरेकोमा उक्त आयात कम गर्न तथा थोरै भए पनि रोजगारी सिर्जना गर्न मेरो घरको पनि केही हिस्सा योगदान हुनेमा आसावादी छु।
२. बेच्नै पुग्ने गरी आफ्नै बारीमा पहिलेकै झैँ अनि कौसीमा पनि तरकारी लगाउने कुरामा आमासँग सल्लाह गरिसकेको छु ।
३. एल.पि. ग्याँसको प्रयोग सहज लागेपछि पाँच वटा सम्म ग्याँसका सिलिन्डर जम्मा गर्दै गर्दा वषौँदेखि प्रयोगविहीन बनाइएको गोबरग्याँसको पनि पहिलेकै झैँ प्रयोगमा जोड दिने योजना बनाएको छु । अब सिलिन्डर थप्ने पैसा खाना पकाउने विद्युतिय उपकरणको खरिदमा लगाउने पनि पक्कापक्की गरेको छु । यसले मौजुदा वार्षिक झन्डै दुई खर्ब रुपैयाँको ईन्धन आयातमा कमि ल्याउन मेरो भूमिका पनि अहम हुने विश्वास लिएको छु ।
४. बालाई जानकारी भएको औषधिय गुणले भरिएका बनस्पतिका बारेमा खासै चासो कहिल्यै राखिन । अब भने बासँग बाले पहिलेदेखि प्रयोग गर्दै आएका जरीबुटीको उपादयताको जानकारी लिनेछु अनि आवश्यक पर्दा बाकै रोहबरमा आफै परीक्षण पनि गर्नेछु । सकभर त्यस्ता जरीबुटी आफ्नै घरबारीमा हुर्काउन सकिने नसकिने पनि बासँगै सल्लाह गर्नेछु । त्यस्ता सूचनाले जरीबुटी उपरको अनुुसन्धान थालनि नै नगर्दाको अवश्थामा पनि नतिजाको नजिक पु¥याउने तथ्य दृष्टिगत गर्दै त्यस्ता सूचनाको माग अनुसन्धान निकायबाट भएमा उपलब्ध पनि गराउन सक्ने गरी संकलन गर्नेछु । करिब पचपन्न अर्ब रुपैयाँको वार्षिक औषधि खपतको महत्वपूर्ण हिस्सा तेश्रो मुलुकबाट हुने आयातलाई कम गर्न यो प्रयास दुरगामी महत्वको हुन सक्नेछ भन्नेमा आश्वस्त छु ।
५. सुविधाका निम्ति एउटा मोटरसाईकल भए काइदा नै हुने सोचेर केही रकम छुट्याएको त थिएँ तर उक्त रकमलाई रकमान्तर गरी साबिककै झैँ सार्वजनिक सवारी साधनमा यात्रा जारी राख्ने निर्णय लिइसकेकोछु । यसो गर्दा वातावरणिय प्रदुषण बृद्धि नहुने त छँदैछ, अघिल्लो आर्थिक वर्षमा मात्र दर्ता भएका झन्डै साढे दुई लाख हाराहारीको संख्याका मोटरसाईकल, त्यसबाट सिर्जीत भीड अनि आर्थिक पाटोलाई थप विकराल नबनाउन यो कदम पनि युक्तिसंगत नै हुनेछ भन्ने लाग्छ ।
६. सरकारलाई राजस्व संकलनमा मदिरा अनि धुम्रपानको राम्रै योगदान रहेको थाहा हुँदाहुँदै पनि यी कुलतलाई सकभर कम नै गर्ने पनि अठोट लिएको छु । झन्डै साढे तीन अर्ब रुपैयाँको मदिराजन्य पदार्थको वार्षिक आयातलाई कम गर्न मेरो यस कदमले थोरै भए पनि बल पु¥याउने आसा लिएको छु ।
७. विदेशी ब्रान्डेड कपडा अनि जुत्ताको सौखिन भएतापनि तत्कालका निम्ति त्यस शीर्षकको क्रय योजनालाई तुहाएको छु ।
८. विदेशबाट फर्कदै गरेका साथीसँग कहिले स्मार्ट फोनका सेट त कहिले ट्याबलेट मगाउँदै गरेकामा तत्कालका निम्ति त्यस्ता पूर्वयोजनालाई थाति राख्ने पनि योजना बनाएको छु ।
९. ४२ इन्चीको टि.भि.को मजा साबिककै झैँ १४ इन्चको टि.भि.बाट लिने निर्णय गरी टि.भि. किन्ने खर्च पनि रकमान्तर गरेको छु ।
१०. बिहे गर्न चाहिँ बेला मात्र नभई अबेला नै भैसकेकोले बिहे यसै साल गर्ने तर इन्तादिनसम्म बिहेका पार्टीमा बोलाई ख्वाउनुहुने सबैलाई हृदयदेखि धन्यबाद दिँदै मितव्ययिताको झन् बढ्दो आवश्यकतालाई दृष्टिगत गरी तडकभडकको पैँचो तिर्न नसकेकामा माफिको प्रस्ताव पनि पेस गरेको छु ।
११. पाखो बारीको बाँझो जग्गामा तारबार सहित केरा लगाउने छु । यसो गर्दा आफ्नै बारीको फलफूल खान पाइने त छँदैछ सँँदियारले जग्गा मिच्ने सिकायत पनि कम हुनेमा विश्वस्त छु ।
१२. तिहारमा माइत आउँदा आफ्नै बारीको सयपत्री अनि मखमलका फूलले उनेको माला ल्याउन पनि तीजमा दर खान आउँदाका दिनमै दिदीलाई अनुरोध गर्नेछु । यसो गर्दा नेपालले वर्षैपिच्छे तिहारमा मात्र भित्र्याउने करिब दश करोड रुपैयाँ बढीको फूलमा मेरो परिवारको खरिद हिस्सा नहुने कुराको गौरावानुभूत हुनेछ ।
१३. नवप्रवर्तनका निम्ति मेरो बुद्धिविवेकले केही भ्याउने सम्भावना बारे निरन्तर घोत्लने छु ।
१४. सकभर बजारिया वस्तु ‘मेड इन् नेपाल’ भएको यकिन गरी खरिद गर्नेछु ।
१५. हरेक पटकको खानामा केही न केही अंश पुरा (भोजन शेष) राखेको झैँ फालिने गरी खाना नपस्किन पनि आमालाई अनुरोध गरेको छु । नपस्किएको तर बाँकी रहने निश्चित भएमा भुँडी नै चर्कने गरी नखाने बरु अर्को छाकलाई थपथाप हुने गरी यथोचित तबरले संचय गर्ने पनि निश्चय गरेको छु ।
१६. हलसम्म गईगईकन विदेशी चलचित्र हेर्ने छैन । त्यस्तो सस्तो मनोरञ्जको सट्टा नजिकैको डाँडामा हाइकिङ्ग जानेछु । र
१७. एक हप्ते वैदेशिक भ्रमणको योजना पनि बनाएको थिएँ । तालिकामै रही अब भने उक्त भ्रमण सुदूरपश्चिमको उपल्लो नाकासम्म पुग्ने योजनाबारे विमर्श गर्दैछु । यति गरीवरी गाउनेछु मुक्तकण्ठले स्वाभिमानका गाथा ।
लेखक पेशाले फर्मासिष्ट हुन् ।