यतिको विमान मर्मतपछि संचालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 01:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । गत शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको थियो । 

नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोलीले झण्डै आठ घण्टाको प्रयासपछि जहाजलाई तानेर विमानस्थलको पूर्वी तर्फको रिमोट पार्किङमा लगिएको थियो।

विमानको प्राविधिक परीक्षण गरी आवश्यक मर्मतपछि पुनःसञ्चालनमा ल्याइने यति एयरलाइन्स वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । उनले विगतमा पनि धावनमार्गबाट चिप्लिएका विमान प्राविधिकले मर्मत गरेपछि सञ्चालनमा ल्याइने गरेको बताए । अहिलेको विमानमा धेरै समस्या नपरेको तर, यतिकै इञ्जिनियरले विमानको सबै पाटपूर्जा परीक्षण गरेपछि अवस्था हेरेर सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

मौसमले साथ दिएपछि यति एयरलाईन्स इञ्जिनीयरले उक्त विमानको प्राविधिक परीक्षण र मर्मतको काम आजबाट थालेका छन् । आवश्यक परेमा जहाज निर्माता कम्पनीका इञ्जिनीयर झिकाएर भए पनि विमानको मर्मत गरिने प्रबन्धक राईले बताए । 

यतिको विमान मर्मतपछि सञ्चालनमा आउने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीको अनुभवमा विगतमा यस्ता प्रकृतिका (विमान चिप्लने र धस्सिने) घटनाका कतिपय विमान नचलेका उदाहरण पनि छन् ।

विमानको मर्मत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पुरा गरेपछि पुनः सञ्चालनमा आउनेछ । विमानको क्षति कति भएको त्यसको प्राविधिक प्रतिवेदनका आधारमा विमान सञ्चालनमा आउने प्राधिकरणको हवाई सुरक्षा विभागका एक अधिकारीले जानकारी दिए । 

उनको अनुसार हालै रामेछापमा भएको तारा एयरको विमान पनि धावनमार्गबाट चिप्लिएपछि त्यसलाई मर्मत गरी केही दिनभित्रै सञ्चालनमा ल्याइएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved