उद्दार उडानमा खेलबाडः सीडीओको लापरबाहीले ६ जनाको मृत्यु

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 30, 2020 | 03:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि मूलुक लकडाउन गरेको थियो । लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक हवाइ उडान बन्द भयो । तर यो बीचमा प्रशासनको अनुमति लिएर उद्दार उडान भने हुन दिने भनिएको थियो । केही उडान भएका पनि छन् । तर गृह मन्त्रालयले समयमै उडान अनुमति नदिँदा उद्दार हुन नसकी बिरामीको मृत्यु हुने क्रम भने रोकिएन ।

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार भएका केही उडानबाट भने नागरिकले सुविधा पाएका छन् । तर त्यस्तै प्रकृतिका अन्य उडानमा भने समन्वय नहुँदा उद्दार हुन नसकी मानिसको ज्यानसमेत गएको छ ।

आधा दर्जन मृत्यु

लकडाउनकै अवधिमा उद्दारका लागि हेलिकप्टर मगाए पनि समयमै उडान नहुँदा देशभर आधा दर्जन बढी व्यक्तिको ज्यान गयो । तर यसको रेकर्ड गृह मन्त्रालयसँगै छैन । प्रभू हेलिकप्टर, सिम्रिक एयर र मनाङ एयरलाई बिरामी पक्षले फोन गरी उद्दारका लागि बोलाएपनि समयमै उद्दार नहुँदा बिरामीको मृत्यु भयो । प्रभु हेलिकप्टरमा ४, सिम्रिकमा एक र मनाङमा एक व्यक्तिको मृत्यु भएको छ । उद्दारका लागि बोलाउँदा हेलिकप्टर जान नपाएपछि मृत्यु भएकाको संख्या त यकिन नै छैन । 

प्रभू हेलकप्टरबाट मात्रै समयमा उद्दार नहुँदा ४ जनाले ज्यान गुमाए । 

बुटवलबाट म्याग्दी गएकी ढोरपाटन नगरपालिका–१ की गर्भवती महिलालाई २०७७ बैशाख १ गते हेलिकप्टरबाट उद्धार गरि पोखरा ल्याईयो । पाठेघरभन्दा बाहिर गर्भ बसी पाढेघरको नली फुटेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएकी ३३ वर्षीया भिमा पाण्डेलाई हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा ल्याईएको थियो ।

पाठेघरको नलि फुटी अधिक रक्तश्राव भएपछि साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा हेलीकप्टरबाट निशुल्क उद्धार नगरिएको होईन । तर गृह मन्त्रालयबाट समयमै उडानको अनुमति नपाउँदा बिरामीको मृत्यु नै भयो । 

उद्दारमा ढिलाई हुँदा २०७७ बैशाख १९ गते मुस्ताङका हर्षाङ गुरुङको मृत्यु भयो । उनका आफन्तले प्रभू हेलिकप्टरलाई उद्दारका लागि आइदिन अनुरोध गर्दै फोन गरे । हेलिकप्टरले समयमै उद्दार उडानको अनुमति पाएन, बिरामीको अकालमै मृत्यु भयो ।

२०७७ असार ९ गते मुस्ताङका खाजी शेर्पा बिरामी परे । उपचारका लागि उनलाई तत्कालै अस्पताल पु¥याउनुपर्ने थियो । उनका आफन्तले प्रभू हेलिकप्टरलाई नै उद्दारका लागि बोलाए । तर उडानको अनुमति पाउन ढिलाई भएपछि हेलिकप्टर जान सकेन । स्थलमार्गबाट अस्पताल पु¥याउन सम्भव थिएन । त्यसपछि शेर्पाको पनि मृत्यु भयो ।

असार ११ गते निशी ५ बागलुङका तुल बहादुर रोकाको पनि समयमै उडान नहुँदा मृत्यु भयो । उनका आफन्तले पनि प्रभुलाई नै बोलाएका थिए । काँग्रेस नेता शंकर भण्डारीले बोलाउँदा पनि समयमै उडान अनुमति नपाएपछि उनका बिरामी आफन्तले ज्यान गुमाउनु पर्यो ।

लकडाउनकै बीचमा सर्लाहीको हरिवनका राजभण्डारी थरका व्यक्तिको उद्दार गरेर उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने थियो । तर समयमै उडान अनुमति नपाएपछि हेलिकप्टर जान सकेन । भोलिपल्ट बिहानसम्म कुर्दा बिरामीको अवस्था थप जटिल बन्न सक्ने भन्दै हेलिकप्टर कम्पनीका अधिकारीले नै आफूले अनुमति पाउन समय लाग्ने भन्दै एम्बुलेन्समा राखेर काठमाडौँ ल्याउन सुझाव दिए । उपचार पश्चात निको बनाउने अभिलाषा बोकेर परिवारले उनलाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याउँदा ल्याउँदै बाटोमा नै उनको स्वर्गारोहण भयो ।

लिखित रुपमा नाम नराखिएका तर उद्दार गर्नुपर्ने खबर आएर पनि उद्दार गर्न नसक्दा मृत्यु भएका व्यक्तिको संख्या धेरै रहेको वायु सेवा सञ्चालक संघको भनाई छ ।

एकद्वार प्रणाली नहुँदा समस्या

हिमाली क्षेत्रमा फसेका पर्यटकहरुको उद्दारमा ‘फेक रेस्क्यु’ हुने गरेको भन्दै सरकारले रेस्क्युको कार्यविधि बनायो । सम्बन्धित जिल्ला प्रशासनले गृह मन्त्रालयमार्फत अनुमति दिएपछि मात्रै उद्दार उडान गर्न पाउने प्रावधान छ । तर जिल्ला प्रशासन कार्यालयमा २४ सैँ घण्टा कर्मचारी नहुने भएकाले रातको समयमा अनुमति पाउने अवस्था छैन ।

‘काठमाडौँ एयरपोर्टमा एउटा डेक्स राखेर त्यहाँ २४ सैँ घण्टा कर्मचारी रहने व्यवस्था गरेर त्यही डेक्समार्फत अनुमति दिने व्यवस्था गर्नुपर्यो भनेर हामीले भनेका भन्यै छौँ’ वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल भन्छन्, ‘उद्दार गरेर ल्याईसकेपछि भेरिफाइ गर्ने काम सरकारका सुरक्षा निकायले गर्दा हुने कुरा हो ।’ 

लकडाउनको अवधिमा समयमै उद्दार उडानको अनुमति नपाउँदा धेरै यात्रुको मृत्यु भएको देखेका प्रभु हेलिकप्टरका उपमहानिर्देशक नोवल कुमार राजलवट जिप्रकाबाट निवेदन गृहमा आउँन समय लाग्ने गरेको बताउँछन् । गृहमा आएपछि भने नरोकिएको उनको अनुभव छ ।

बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुखसमेत रहेका संघका कोषाध्यक्ष रुपेश जोशी ‘वान वुइन्डोज्’ काम गर्ने पद्दतिको विकास नभएसम्म उद्दार उडानले समयमै अनुमति नपाउने र उद्दार हुन नसकेकै कारण मानिस मर्ने क्रम नरोकिने बताउँछन् । 

अन्तराष्ट्रिय अभ्यास र मान्यता

उड्डयन क्षेत्र कहिल्यै पनि एक देशको नीजि मामिला मात्रै होइन । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), जो विश्वभरका नागरिक उड्डयन क्षेत्रको नियमन गर्ने निकाय हो । आइकाओको प्रावधान अनुसार ‘रेस्क्यु फ्लाईट’ लाई राष्ट्रप्रमुखको उडानभन्दा बढी मान्यता दिनुपर्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved