बिमाको पहुँच बढाउन घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 08:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बिमामा आमनागरिकको पहुँच बढाउन 'घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान' थालिएको छ। बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बेलका नगरपालिका–९ स्थित रामपुरबाट घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको उद्घाटन गरेका हुन।

बिमामा आमनागरिकको पहुँच बढाउने उदेश्यले ‘नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)’ले देशव्यापी रुपमा यो अभियान सुरु गरेको हो। घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानका कारण बिमाको दायरा २० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। हाल देशमा बिमाको दायरा १० प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको बीमा समितिको दाबि छ।    

सरकारले कृषि बिमामा ७५ प्रतिशत अनुदान दिँदै आएको छ तर २५ प्रतिशत कृषकले बुझाउनुपर्ने प्रिमियममा बेलका नगरपालिकाले ५० प्रतिशत थप अनुदान दिएर कृषकलाई बिमामा प्रोत्साहन गरेको छ। 

कार्यक्रममा नेपाल बिमक संघका कार्यकारी सदस्य एवं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले आमनागरिकमा बिमा दाबीसम्बन्धी बुझाइ गलत भएका कारण बिमाको पहुँच विस्तार सहज हुन नसकेको बताए। ‘बिमाको क्षतिपूर्ति दाबी गर्ने बेलामा बिमा कम्पनीहरुले दाबी भुक्तानी गर्न आलटाल गर्छन्, झण्झटिलो बनाइदिन्छन् भन्ने हाम्रो गलत मानसिकता छ,’ उनले भने। 

बिमा विज्ञ श्रीमान कार्कीले सबैको समृद्धिका लागि बिमाको आवश्यकता रहेको बताए। उनले जोखिम व्यवस्थापनको मूल आधार बिमा भएकाले सबैले अनिवार्य रुपमा बिमा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकारले मुलुक समृद्धिको सपना देखेको छ । जोखिम बहन हुने अवस्था नभएसम्म समृद्धिको आधार तयार हुन सक्दैन । त्यसैले मुलुकको समृद्धि र लगानीको सुरक्षाका लागि पनि बिमाको आवश्यकता छ ।’

प्रभु लाइफ इन्स्योरेन्सका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जनचेतनाको अभावमा बिमाको पहुँच सर्वसाधारणसम्म पुग्न नसकेको बताए । ‘हामीले बिमा के हो भन्ने कुरा बुझाउन सकेका छैनौँ । बिमा हाम्रै लागि हो भन्ने विषय सबैले बुझ्न नसक्नु ठूलो समस्या हो ।’

नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले बिमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने भएकाले बिमा गर्दा बिमितलाई कहिल्यै घाटा नहुने बताए । उनले भने, 'बिमा गर्दा बिमितलाई कुनै घाटा छैन, बरु उल्टै फाइदै फाइदा छ ।’

बेलका नगरपालिका–९ का अध्यक्ष मोहन घिमिरेले बिमामा सवै नगरबासीको पहुँच पुर्याउन कृषकले बुझाउनुपर्ने बिमा शुल्कमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको बताए ।

एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले (एनसिस) बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमा लक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले बेलका नगरपालिकबाट सुरु गरिएको अभियान सातै प्रदेशमा सञ्चालन गरिँदै लगिने जानकारी दिइन् । 

करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बिमा साक्षरताको अभावमा बिमा नगरेको पाइएकाले सोही ठाउँबाट अभियानको सुरुवात गरिएको उनको भनाइ छ ।

एनसिसका निर्देशक डुन्डुराज आचार्य (डीआर) ले बेलकाबाट सुरु भएको अभियानले देशभरबाट विदेशिएका युवाशक्तिलाई घर फर्किन र स्वरोजगार बन्न प्रेरित गर्ने बताए । 'अरू नै कसैले जोखिम बहन गरिदिने भएपछि डेढ लाख खर्च गरेर विदेशिनुभन्दा स्वदेशमै आय आर्जनका बाटा खोज्न यस्ता अभियानले युवालाई प्रेरित गर्ने हाम्रो विश्वास छ,' उनले भने ।

पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम हुनेछ। 

नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बिमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बिमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको बीमा समितिको दाबि छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved