मेगा बैंक नेपालले सेयरधनीहरुलाई आर्थिक बर्ष २०७४-७५ बाट १.००२३ प्रतिशत बोनस सेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले १ प्रतिशत बोनस सहित ७.८५ प्रतिशत लाभांश दिने प्रस्ताबमा केहि सेयरधनीहरु बिशेषगरि दोस्रो बजारका सेयरलगानीकर्ताहरुले १ प्रतिशत बोनस मात्रै किन भन्ने प्रश्न समेत गरे।
तर बैंकले तात्कालीन टुरिजम डेभलपमेन्ट बैंकसंगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष १० करोड ५ लाख र बाँकी २५ लाख त्यही मर्जरबाट प्राप्त शेयर प्रिमियम रकम नगद लाभांश मार्फत दिन नमिल्ने भएकाले बोनस सेयर रुपमा वितरण गरेको हो। जस कारण बैंकले १।००२३ प्रतिशत बोनस सेयर सहित ७।८५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताब गरेको हो। बैंकले चुक्ता पुँजीको ६.८५ प्रतिशत हुन आउने ७० करोड नगद लाभांश दिन र १० करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर दिन लागेको हो।
बैंकका अनुसार तत्कालीन नेपाल लेखामान बमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण तयार गर्दा मुनाफाको हिस्सा जगेडा तथा कोषहरु सार्नु परेकोले ७.८५ प्रतिशत मात्र लाभांश हुन आएको हो।
बैंक संचालक समितिले प्रस्ताब गरेको ७।८५ प्रतिशत लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। लाभांश वितरण लगायतका अन्य निर्णयका लागि बैंकले पुष ३० गते बार्षिक साधारण सभा डाकेको छ। प्रस्तावित बोनसपछि मेगा बैंकको चुक्ता पुंजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँ पुग्नेछ।
बैंकले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण पेश गरेको छ। बैंकले निक्षेप तर्फ ६८ प्रतिशत र कर्जा तर्फ ७७ प्रतिशतले वृद्धि गरेको छ भने मुनाफा ३९५ प्रतिशतले बढेर ४० करोड २५ लाख पुगेको छ। बैंकको प्रगति बाणिज्य बैंकहरु मध्यकै अधिकतम वृद्धि दर हो। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा छ।