नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमा लगानीकर्ताले निःशुक्ल फण्ड ट्रान्सफर गर्न सकने भएका छन् । नेपाल क्लियरिङ हाउसले सीमित अवधिका लागी यो सुबिधा सुरु गरेको जनाएको छ । यो सुविधा अन्तर्गत आफ्नो बैंक खाता लिंक गरी भेरीफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क भएको छ ।
कनेक्ट आईपीएसमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्द छन् । यस प्रणालीबाट नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ ।
उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आइपिएस छनौट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा प्रवाह भइरहेको छ ।