नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ विरुद्ध छानविन गर्न बनेको समतिले आफ्नो प्रतिवेदन अन्तिम अवस्थामा पुगेको बताएको छ। गत कार्तिक १८ गते बसेको नेपाल राष्ट्र बैंकको संचालक समितिको बैंठकले राष्ट्र बैंककै संचालक समिति समस्य श्रीराम पौडेलको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । छानविनलाई अन्तिम अवस्थामा पुर्याएको र मंगलबार प्रतिवेदन बुझाउने गरी प्रतिवेदन लेख्ने काम भईरहेको समितिका एक सदस्यले बिजपाटीलाई बताए ।
श्रेष्ठ कै कार्यकक्षको बन्द कोठामा प्रतिवेदन लेख्ने काम भईरहेको छ । समितिले छानविनको क्रममा राष्ट्र बैंकको विभिन्न बिभागबाट श्रेष्ठसंग सम्बन्धित फाइलहरु मगाएर छानविन गरेको थियो । नेपाल इन्भेष्मेन्ट बैंकमार्फत एनसेलको लाभांश लगिएकोले उक्त लाभांशको विषयमा थप जानकारीका लागि बैंकलाई पनि बोलाएर समितिले कागजातको छानविन गरेको थियो । छानविन लगभग अन्तिम चरणमा पुगेकोले प्रतिवेदन लेख्ने कार्य सुरु भएको समितिले जनाएको छ ।
समितिले प्राविधिक काम राष्ट्र बैंक कै कर्मचारीहरुबाट गराए पनि प्रतिवेदन लेखाईको काम भने बाहिरको व्यक्तिबाट गराईरहेको छ । प्रतिवेदनको गोप्यता कायम राख्नको लागि समितिले लेखाईको कार्यको लागि राष्ट्र बैंक भन्दा बाहिरको व्यक्ति रोजेको हो । समितिको म्याद थप नहुने निश्चित भएसंगै समितिले बिहान ८ बजेदेखि बेलुका अबेरसम्म प्रतिवेदन तयारीको काम गरिरहेको छ । यी सबै काम श्रेष्ठ कै कार्यकक्ष भित्र ढोका बन्द गरेर भईरहेको छ । समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेसंगे त्यस कोठामा राष्ट्र बैंक कै कर्मचारीलाई समेत छिर्न नदिएको स्रोतले बताएको छ ।
त्यस्तै समितिले हालसम्म आरोपित शिवराज श्रेष्ठसँग भने कुनै कुराकानी नगरेको समितिका एक सदस्यले बिजपाटीलाई बताएका छन् ।
समितिले मंगलबार बुझाउने प्रतिवेदन राष्ट्र बैंकको संचालक समितिमा पेश हुने छ । संचालक समितिले स्वीकृत गरेपछि उक्त प्रतिवेदन अर्थ मन्त्रालय हुदै मन्त्रिपरिषद पुग्ने छ ।
डेपुटी गभर्नर श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लागेको छ ।