सरकारले नसुनेपछि चिनियाँ दुतावास घेर्ने नेपाली व्यवसायीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 08:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले गरेको अघोषित नाकाबन्दी खुलाउन नेपाल सरकारले कुनै पहल नगरेको भन्दै नेपाली व्यवसायीहरु आन्दोलित भएका छन्। उच्च तहबाट वार्ता गरेर अहिलेको समस्या समाधान गर्नुपर्नेमा नतिजा आउनेगरि सरकारले केहि नगरेकाले अब दुतावास घेर्नुको विकल्प नभएको पिडित व्यवसायीहरुले जनाएका छन्। 

विभागीय मन्त्री तथा नेकपा र विपक्ष दल कांग्रेसका शिर्ष नेताहरुलाई पटक पटक भेटेर आफ्नो समस्या सुनाउँदा पनि समाधानका लागि कुनै पहल नभएकोप्रति असन्तुष्टि जनाउदै अब सडकमा उत्रिनुको विकल्प नभएको व्यवसायीहरुको भनाई छ। 

चीनले पछिल्लो १० महिनादेखि एकतर्फी नाका बन्द गरिदिँदा नेपाली व्यवसायीको उठिबास भएको बिषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका प्रवक्ता तथा स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठ, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, लगायतलाई भेटेर नै जानकारी गराउँदा पनि कुनै समाधान ननिस्किएपछि आन्दोलनको बाटो रोज्न बाध्य भएको व्यवसायीहरुको गुनासो छ। 

गत पुषदेखि नै नाकामा अड्किएका कन्टेनर काठमाडौं ल्याउनलाई एक दुई दिन भित्र कुनै पहल नभएमा दबाब स्वरूप नेपाल स्थित चिनियाँ राजदुतावास घेर्ने कार्यक्रम रहेको व्यवसायीका एक नेताले बिजपाटीलाई बताए। दबाब दिने उदेश्यले गरिने आन्दोलनमा सरकारले नसोचेको संख्यामा व्यवसायीहरुको उपस्थिति रहने ति नेताको दाबी छ। 

'दबाब सृजना गर्न आन्तरिक रुपमा छलफल जारी छ, करीब हजार बढी व्यवसायीहरु एकै पटक दुतावास घेर्न जानेगरी तयारी गर्दैछौं, अहिले कसले नेतृत्त्व लिने भन्ने बिषयमा छलफल जारी छ' नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य समेत रहेका ति व्यवसायीले भने। 

गत पुष देखि नै चीनबाट नेपाल समान ल्याउने दुवै नाका ठप्प छन्। चीनले केरुङ रसुवा नाका कोभिडलाई कारण देखाएर बन्द गरेको छ भने खासा तातोपानी नाका खासा भन्दा करिब ३५ किलोमिटर माथिको 'कयानोल कु' ताल फुट्ने सम्भावना देखाएर बन्द गरेको छ। 

करिब १० महिनादेखि चीनले अघोषित रुपमा नाकाबन्दी गर्दा चीन तर्फ सामान भरिएका नेपालका सयौं कन्टेनर रोकिएका छन् भने नेपाली व्यवसायीले नेपाल ल्याउन ठिक पारेका कयौं सामान सडकमै अलपत्र परेका छन्। 

नाकामै रोकिएका सामान पानिजहाजबाट भारत हुँदै तराईका नाका मार्फत काठमाडौं ल्याईपुर्याउनलाई पनि कम्तिमा ४५ दिन लाग्ने भएकाले दशैं तिहारमा सामान बेच्नलाई अब त्यो बिकल्प पनि नरहेको व्यवसायीहरुको भनाई छ। 

६ महिनादेखि थलिएको व्यवसाय दशैं तिहारमा केहि भएपनि सामान बिक्रि गरेर घरभाडा, बैंकको ब्याज र अन्य खर्च तिरौला भन्ने आश पनि मर्न लागेको भन्दै आफुहरु गर वा मरको अवस्थामा रहेकाले दुतावास घेरेर भएपनि दबाब दिनुको बिकल्प नभएको व्यवसायीहरुको निष्कर्ष छ। 

केहि दिन भित्र समस्याको निराकरण नभए दशैं र तिहार लक्षित धेरै सामान नाकामै अड्किएर नेपाली व्यवसायीको उठिबास हुने व्यवसायीहरुको गुनासो छ।

ब्याट्री, इलेक्ट्रोनिक सामान, माछाको प्याकेट लगायतका आयु हुने सामानहरु कन्टेनरमै बिग्रिने अवस्था रहेकाले तत्काल यसको समस्या समाधान नभए धेरै व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न सक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बिजपाटीलाई बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved