बिहीबारदेखि सरकारी स्वामित्वमा सञ्चालन भएका तीन संस्थानले काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेनिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले बिक्री गर्ने सबै खाद्य पदार्थहरु एकै स्थानमा पाईने भनिएपनि उपभोक्ताले खोजेको बस्तु नपाएको गुनासो गरेका छन् ।
हाल बजारमा चिनीको मूल्य बढी छ । खाद्य सस्थानले साल्ट ट्रेनिङ कर्पोरेशनको सामग्रीसमेत बिक्री गर्ने भन्ने सूचनाका आधारमा चिनी किन्न पुग्दा नपाएको काभ्रेका बसन्त धिताल बताउँछन् ।
‘तीनै संस्थानका खाद्य वस्तुहरु बिक्री गर्ने भन्ने समाचार थियो, काठमाडौँमा नै थिए, गाउँमा लैजानु पर्यो भनेर खाद्यको थापाथली काउन्टरमा आउँदा चिनी नै रहेनछ’, उनले भने, ‘काउन्टरमा बुझ्दा साल्ट ट्रेनिङसँग चिनीको मौज्दात कम रहेछ, नयाँ ल्याइने चिनी आएपछि मात्र बिक्री गर्ने भनियो ।’
‘बिक्रीका लागि पर्याप्त सामग्री नै छैन, किन हतारमा सुपथ मूल्यका पसल सञ्चालन भयो भनेर उपभोक्तालाई दुख दिनुपर्यो ?’ उनले प्रश्न गरे, ‘दशैंका लागि आवश्यक सबै सामग्री घरमा लैजाने तयारी गरेर आएको थिए, साल्ट ट्रेनिङले मात्र अहिले चिनी बिक्री गरेको रहेछ, थापाथलीमा पाउँने भनेर गएको म टेकु कसरी पुग्नु यत्तिकै फर्किए ।
यता खाद्य कम्पनी चिनीको मौज्दात कम हुँदा साल्ट ट्रेनिङबाट मात्र चिनी बिक्री गरिएको बताउँछ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने कर्पोरेशनका अन्य सामग्रीहरु खाद्यमा बिक्रीका लागि राखिएपनि तत्काल चिनी नराखिएको बताउँछिन् ।
‘नयाँ चिनी आएपछि राख्ने तयारी भएको छ, तत्काल राखिएको छैन’ उनले भनिन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्यका पसलमा राखिएका सामग्रीमा छुट दिने भनेपनि छुट नपाएको उपभोक्ताको गुनासो छ । साल्ट ट्रेनिङले उत्पादन गर्दै आएको आयोडिन नुन प्रति प्याकेट १८ रुपैयाँमा बिक्री गरी २ रुपैयाँ छुट दिने भनिएपनि खाद्यले छुट दिएको छैन । साल्ट ट्रेडिङले प्रति प्योकट नून १८ मा बेचेको छ भने खाद्यले २० रुपैयाँमा बेचेको छ । कम्पनीको छुट दिने सामग्रीको सूचीमा नूनको मूल्य २० रुपैयाँ राखिएको छ । यस विषयमा न्यौपानेले लिष्टमा आफूले पनि २० देखेको भन्दै बुझ्ने बताएकी छिन् । प्रिन्ट गर्दा गल्ती भएको हो कि २० रुपैयाँमा नै बिक्री भएको हो भनेर आफूले बिक्री काउन्टरमा बुझेपछि जवाफ दिने उनको भनाई छ ।
खाद्य र साल्ट ट्रेनिङका काठमाडौँ उपत्यकामा सञ्चालित पाँच पाँच वटा बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । दुई संस्थाका ४९ स्थानमा उक्त पसल सञ्चालन गरिएको छ । न्यौपानेका अनुसार खाद्यले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रसहित २९ स्थान र साल्ट ट्रेनिङले २० स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरिएको छ ।
काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक र साल्ट ट्रेनिङको ललितपुर, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपाका बिक्री काउन्टरमा सुपथ मूल्यका पसल सञ्चालन छन् । मन्त्रालयले तोकेअनुसार दुबै कम्पनीले छुटमा प्रति परिवार ४ किलोका दरले १८ मा नून, ७० मा चिनी र ८७० मा घ्यू बिक्री गर्नुपर्नेछ । यसैगरी चामल, दाल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकिलो ५ र खसी, बोका तथा च्याङग्रामा प्रति किलो १० रुपैयाँ छुट रहेको छ ।
दुग्ध विकास संस्थानले लैनचौर, न्युरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानबाट प्रति लिटर एक हजार पर्ने घ्यू ८७० मा बिक्री गर्नेछ । असोज १५ गतेबाट सुरु भएको सुपथ मूल्य पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।