'सेयरबजारको बुलिस ट्रेण्ड ३ बर्षसम्म रहन सक्छ' अम्बिका पौडेलसँगको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 01, 2020 | 08:13:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सुस्त गतिमा अघि बढिरहेको सेयरबजारमा अचानक उत्साह थपिएको छ। हरेक दिन कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ भने सेयरबजारको परिसूचक नेप्से निरन्तर उकालो चढिरहेको छ। 

बिगतमा करोडमा सिमित रहेको सेयरबजारमा अहिले ४ अर्ब प्लसको कारोबार हुन् थालेको छ भने नेप्से परिसूचक १६३२ को बिन्दुमा उक्लिसकेको छ। सेयरबजारमा देखिएको यो उत्साहलाई धेरैले अस्वाभाविक भनेका छन भने कहिले स्वाभाविक ठानेका छन र त्यहिअनुसारको तर्क र प्रमाण पेश गरिरहेका छन्। 

जुनसुकै कारण रहेपनि माग र आपूर्तिले नै सेयरबजारको कारोबार भोलुम र  इन्डेक्स निर्धारण गर्दछ। सुस्त गतिमा अघि बढिरहेको बजारमा अचानक उत्साह देखिनु आफैमा पक्कै पनि सामान्य बिषय होइन। यसका पछाडी धेरै कारणहरु हुन् सक्छन। अर्थात सेयरबजारमा सेयरको माग बढाउने कारणहरु धेरै हुन् सक्छन। 

पछिल्लो समय सेयरबजारमा देखिएको उत्साह, यसको निरन्तरताको बिषयमा नेपाली शेयर बजारमा आफ्नो छुट्टै नाम र अस्तित्व बनाएका तथा संस्थागत लगानीकर्ताको पहिचान बनाएका अम्बिका प्रसाद पौडेलसँग बिजपाटी डटकमका लागि शिव धितालले कुराकानी गरेका छन्।  

पौडेल अहिले संस्थागत लगानीकर्ताका रुपमा शेयर बजारमा सक्रिय रुपमा लगानी गरिरहेका छन । उनीसँग हाथवे ईन्भेष्टमेन्ट म्यानेजमेन्ट प्रा. लि.मा  प्रमुख तथा एनबि ईन्स्योरेन्स कम्पनीका अध्यक्ष रहेर काम गरको अनुभव समेत छ। उनि केहि समय लगानीकर्ताको नेता अर्थात नेपाल इन्भेस्टर फोरमको अध्यक्षको रुपमा सेयरबजार सुधारका काममा प्रत्यक्षरुपमा लागि परेका व्यक्तिसमेत हुन्।  बजारका उनै सफल लगानीकर्तासँग गरिएको कुराकानीको सम्पादित अंश:

अहिले बजार बढ्नुका मुख्य कारण के के हुन् ?

केहि समय अगाडीदेखि बजार बढिरहेको छ । मैले बजार बढ्नुका ३-४ वटा पक्ष देखेको छु । पहिलो पक्ष भनेको ३-४ वर्ष अगाडीसम्म बजारमा तरलता अभाव थियो, शेयर लोन कुनै पनि बैंकको प्राथमिकतामा थिएन । अहिलेको ४-५ महिना अगाडीको अवधिमा बजारमा तरलता सहज छ । बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा शेयर ऋण प्रदान गरिरहेका छन् । ऋण सहज भएपछि स्वभाविक रुपमा बजार वृद्धि हुन्छ । अब बजार बुलिस ट्रेण्डमा गईसकेको छ ।

दोस्रो पक्ष भनेको बजारको चक्रिय प्रभाव हो । बियरिस चक्रिय प्रभाव अलि अगाडी नै पुरा भई सकेको थियो । तर चक्रिय प्रभाव सकिएको बेलामा खास गरी तरलता उपयुक्त रहेन । तरलता सहज नहुँदा बजार बढ्न खोज्दा पनि बढ्न सकिरहेको थिएन । अहिले भने चक्रीय प्रभाव पनि सकिएको छ, तरलता पनि सहज छ । बैंकहरुले नै लगानीकर्तालाई बोलाएर शेयर लोन हामी सहज तरिकाले दिन्छौ, आएर लिईदिनुस भनेर आह्वान गरिरहेका छन् । हिजो त्यहि लोन लिन कठिन थियो, आज आफै लोन लिन बोलाउँदै छन् ।

तेस्रो पक्ष भनेको ५८ बुँदेको प्रभाव हो । गत वर्ष यहि बेलामा सरकारले मुद्रा तथा पुँजीबजार विकास तथा विस्तारको लागि कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले दिएको ५८ बूंदे सुझावमध्ये धेरै वटा कार्यन्वयनमा आईसकेका छन् र केहि कार्यन्वयनमा आउने चरणमा छन् । कुनै पनि सुधार कार्यको कार्यन्वयनको प्रभाव देखिन समय लाग्छ । अहिले त्यसको प्रभाव देखिदै छ । 

सरकारकोसमेत स्वामित्व रहेको नागरिक लगानी कोषले स्टक डिलर कम्पनी खोलेर पुँजीबजारमा लगानी गर्ने निर्णय गरेको छ । यसले लगानीकर्ताको कन्फीडेन्स बढेको छ । यसले लगानीकर्तालाई ‘सरकार पनि पुँजीबजार प्रति सकारात्मक छ है भन्ने महत्वपूर्ण संदेश गएको छ’ । कर्मचारी संचय कोषले पनि निकट भविष्यमा स्टक डिलर कम्पनी खोल्ने जनाएको छ । 

साथै केहि समय अगाडी मात्र नेपाल धितोपत्र नियमावली संशोधन गरेर निश्चित मापदण्ड पुरा गरेर बैंकलाई बाहेक अन्य कम्पनीलाई पनि सामुहिक लगानी कोष योजना संचालन गर्न पाउने ब्यबस्था गरेको छ । यसले पनि लगानीकर्तालाई कन्फिडेन्स बढाउन मद्दत गरेको छ । 

भारतको बजार घटेर त्यहाँका लगानीकर्ता यता आए भनिन्छ नि ?

केहिले भारतको शेयर बजार घट्दा नेपालमा लगानीकर्ता आएको बताएका छन् । तर त्यसको प्रमाण छैन । यदि कोहि नेपाल र भारत दुवै देशको बजारमा लगानी गर्न योग्य रहेछ भने त्यो हुन सक्छ । तर त्यसको कुनै तथ्य वा प्रमाण छैन । तर नेपालको पुँजीबजारमा मारवाडी समुहको भूमिका भने पक्कै छ ।

बढ्दो बजारमा नयाँ लगानीकर्ताले कसरी लगानी गर्ने ?

बजारमा नयाँ वा पुरानो अथवा जानकारी भएको वा नभएको लगानीकर्ता हुन्छन् भन्ने तर्कसँग म विश्वास गर्दिन । यदि कोहि बजारमा आउछ भने उ ब्यबसायीक हिसाबले आएको छ भन्ने मेरो मान्यता हो । बजारमा आउनु अगाडी बजारको बारेमा जानकारी लिनु उसको पहिलो कर्तब्य हो । नाफा कसरी बढाउने भन्ने प्रत्यक व्यक्तिले सोचिरहेको हुन्छ । बजारमा आएपछि नाफा बढाउने तरिका उसले पनि थाहा पाउनु पर्छ । यसको लागि मुलभूत आधारभूत तथ्यहरु बुझेर आउनु पर्छ भन्ने लाग्छ ।

लगानीकर्ताले जहिले पनि लगानी गर्दा मैले लगानी गर्ने कम्पनी कस्तो छ, त्यसको बोर्ड कस्तो छ, ब्यबस्थापन कस्तो छ, कम्पनीको विगत कस्तो छ, यस अघि वितरण गरेको नाफाको दर कस्तो छ, विगतको आधारमा वर्तामान के छ, र बिगत र वर्तमानलाई मुल्यांकन गरेर भविष्यको प्रक्षेपण गरेर लगानी गर्नुपर्छ । मैले गरेको लगानीले वर्षको अन्त्यमा कति प्रतिफल दिन सक्छ भन्ने बुझेर लगानी गर्नुपर्छ । अरुले कमायो भनेर देखासिखीमा लहैलहैमा लगानी गर्ने प्रवित्ति छ, त्यसपछि नाफा भए खुसि हुने तर घाटा भए ‘ठुला लगानीकर्ताले खेलवाड गरे, पुराना लगानीकर्ताले डुबाए भनेर आरोप लगाउने प्रवित्तिबाट आम लगानीकर्ता मुक्त हुनु पर्छ’ । राज्यको नीति तथा ऐन कानुन भित्र रहेर आफ्नो लगानीको सुरक्षा आफै गर्नुपर्छ । यसको विकल्प छैन । नियामकले आफ्नो भूमिका खेल्छ तर व्यक्ति विशेषको लागि कुनै फरक ब्यबस्था नियामकले गर्दैन । आफ्नो लगानीको लागे आफै सर्तक रहने हो ।

अहिले बजार बढ्दा धेरेले कमाए, तर कसले गुमाई रहेको छ ?

सामान्यतया बजार बढ्दा धेरैले कमाउछन् अनि त्यसको विपरित बजार घट्दा धेरैले गुमाउछन् । बढ्दो बजारमा धेरैले कमाउछन् । उदाहरणको लागि कसैले १२० मा शेयर किनेर १४० मा बेच्यो भने उसले कमायो । १४० मै किनेर १५० मा बेच्नेले पनि कमायो । तर १४० मा बेचेर बढी आउने रहेछ मैले पहिल्यै बेचेर गुमाए भन्न थाल्यो भने त्यसको अर्थ रहेन । बढ्दो बजारमा अधिकांशले कमाएका हुन्छन् , गुमाउनु पर्दैन । यो भन्दै गर्दा लगानीकर्ताले आधारभूत कुराहरु बुझ्नु पर्छ, जान्नु पर्छ । यो हुँदा कमाउने सम्भावना बढी हुन्छ भने गुमाउने सम्भावना कम नै हुन्छ । 

बजारमा अरुले कमायो रे भनेर आउनेलाई केही गर्न सकिदैन । उनीहरुले बजारमा गुमाउने पनि छन् भन्ने बुझ्नु पर्छ । कुनै पनि नदीको गहिराई थाहा नपाई नदीमा हाम फाल्यो भने भाग्यले कहिलेकाही गहिराई कम रहेछ भने बाचिन्छ, होइन भने डुबिन्छ। बजारमा पनि त्यहि हो । लगानीकर्ताले आफ्नो क्षमता कति हो बुझ्नु पर्छ, नदीको अवस्था बुझ्नु पर्छ । १० वर्षको बच्चालाई त्यहि नदी तर्न कठिन हुन्छ, अलि वयस्कलाई त्यहि नदी सहज हुन्छ । त्यहि कारण बजारमा आफ्नो क्षमता कति हो थाहा पाउनु पर्छ । पौडी खेल्ने चाहना गरेपछि पानीको बहाव, नदीको गहराई र आफ्नो क्षमता राम्रोसँग बुझ्नु पर्छ । 

अहिलेको बुलिस ट्रेण्ड कति समय रहला ?

अघिल्लो पटकको ट्रेण्डलाई फलो गर्यो भने यो ३ वर्ष जान सक्छ । अन्य केहि कुराहरु यथावत रहेमा यो बुलिस ट्रेण्ड ३ देखि ४ वर्ष रहन सक्छ । 

हालको अर्थमन्त्री डा.युवराज खतिवडालाई पुँजीबजार मैत्री होइन भनिन्छ नि, किन होला ?

मैले कहिले पनि उहाँलाई पुँजीबजार मैत्री नभएको भनेको छैन । उहाँ पुँजीबजार बुझेको मान्छे हो, अर्थतन्त्रको सबै पाटा बुझेको व्यक्ति हो, पुँजीबजारको विज्ञ नै हो । उहाँ कै कार्यकालमा, उहाँ कै निर्देशनमा पुँजी तथा मुद्रा बजारमा देखिएका समस्या अध्ययन गरि समाधान गर्न कार्यदल बनेको हो । त्यो कमिटिले दिएको अधिकांश सुझाव कार्यन्वयन भएका छन् , त्यसको असर अहिले देखिन थालेको छ । उहाँलाई पुँजीबजार मैत्री होइन भन्न मिल्दैन ।

अब बजारमा के के सुधार गर्न बाँकि छन् ?

सुधार भनेको निरन्तर चल्ने प्रकृया हो । यो कहिले पनि सकिदैन । अहिले प्रति दिन ४/५ अर्बको कारोबार हुन थालेको छ । बुलिस ट्रेण्डमा प्रतिदिन १० देखि १२ अर्बको कारोबार सामान्य हुन सक्छ । हामीसँग त्यति कारोबार गर्ने सिस्टम छ कि छैन, त्यहि किसिमको पूर्वाधार छ कि छैन हेर्नुपर्छ । अहिलेको टि प्लस ३ लाई कम गर्नु पर्छ । अझै पनि पुंजीबजार पूर्ण प्रविधि मैत्री छैन, त्यसलाई प्रविधिमैत्री बनाउनु पर्यो । सिस्टम सुस्त छ । त्यहि अनुसार ब्रोकरको क्षमता र सफ्टवेयरको क्षमता बढाउनु पर्छ । भोलीको दिनमा नेट सेटलमेन्ट व्यक्तिलाई दिनुपर्छ । अहिले ब्रोकरले मात्र यो सुविधा पाएका छन् । आईपिओमा बुक बिल्डिङको प्रोसेस छिटो आउनु पर्छ । सुधारको विषय निरन्तर चल्ने हो । यी आवश्यकता अनुसार समयक्रममा आउने नै छ ।

ब्रोकरको संख्या थप्न कति आवश्यक छ ?

पहिला अहिले भएका ब्रोकरको क्षमता र कार्यक्षेत्र विस्तार गर्नु पर्छ । पहिला अहिलेका ब्रोकरलाई पुँजीमैत्री बनाउनु पर्छ, प्रविधि मैत्री बनाउनु पर्छ, उनीहरु के के गर्न सक्छन् भन्ने हेरेर त्यो अनुसार काम गराउनु पर्छ । अहिले भएका ब्रोकरले ति काम गर्न नसके थप्नुपर्छ । संस्था थप्ने भन्दा पनि संजाल विस्तार गर्ने प्रमुख कुरा हो । बैंकलाई ब्रोकर लाईसेन्स दिंदा राम्रो हुन्छ तर त्यसले पनि सबै समस्याको हल भने हुँदैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved