हिमालय उर्जा विकास कम्पनीले चैत्र २० गतेदेखि निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा १६ करोड बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बिहिबार बेलुका सम्ममा करिब २१ हजार आवेदकबाट १६ लाख ७० हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकि रहेको शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा दोस्रो दिन नै माग भन्दा बढीको आवेदन परेको हो ।
आईपिओ निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ६५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयको शेयरमा निष्काशन गरिएको शेयर भन्दा बढीको आवेदन परेको थियो ।
कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।
यो पनि :