कम आईपिओ सुचिकृत गराउने ३ क्यापिटलको प्रयास असफल

मिडियालाई सूचना नदिन क्यापिटल कै 'दबाब'
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 17, 2019 | 02:06:36 PM मा प्रकाशित

laxmi  sunrise bank

निष्काशन गरिएको भन्दा कम आईपिओ सुचिकृत गराउने प्रयास असफल भएको छ। कम आईपिओ सुचिकृत गराएर पुँजीबजारमा नयाँ  अभ्यासको थालनी गर्ने ३ क्यापिटलको प्रयास असफल भएको हो । हिमाल दोलखा हाइड्रोपावरका शेयर प्रत्याभुतकर्ताहरुले आफुले दिनु पर्ने भन्दा कम रकम दिएर कम शेयर सुचिकृत गराउने प्रयास गरेका थिए । तर नेपाल धितोपत्र बोर्डले त्यसो गर्न कानुनत नमिल्ने बताएपछि उनीहरुको प्रयास असफल भएको हो । 

भएको के थियो ?

हिमाल दोलखाले निष्काशन गरेको ७८ लाख कित्ता मध्ये  ४१.६१ प्रतिशत अर्थात्  ३० लाख ९३ हजार २ सय ५० कित्ता आईपिओ  मात्र बिक्रि भएको थियो । बाँकि रहेको शेयर सम्झौता अनुसार प्रत्याभूतिकर्ताहरुले सकार्नु पर्ने थियो । आईपिओ पुरै बिक्रि नभएको खण्डमा बिक्रि नभएको शेयर खरिद गर्ने गरि कम्पनीसंग सम्झौता गरेका कम्पनी नै प्रत्याभूतिकर्ताहरु हुन् । 

हिमाल दोलखाको हकमा लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए । जसअनुसार यी कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने थियो। तर लक्ष्मी बाहेकका कम्पनीले आफुले लिनु पर्ने शेयर बराबरको पैसा दिन आनाकानी गरे । 

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले,   २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए । यहि प्रतिशतको आधारमा यी ४ क्यापिटलले बिक्रि नभएको शेयर किन्नु पर्ने थियो। जस अनुसार नबिल इन्भेस्टमेन्टले सबै भन्दा धेरै १५ लाख ३५ हजार ४४ कित्ता, बिओकेले १४ लाख ९६ हजार ६ सय ६५ कित्ता, लक्ष्मीले ११ लाख ३८ हजार ४ सय ९० कित्ता र नेपाल बंगलादेशले ३ लाख ८३ हजार ७ सय ६२ कित्ता शेयर खरिद गर्नु पर्ने थियो ।

यी मध्ये लक्ष्मीले पुरै शेयर खरिद गर्यो । तर अन्यले भने शेयर खरिद गर्न आनाकानी गरे । कम्पनीका अनुसार करिब ५ लाख कित्ताको रकम अझै आउँन बाँकि छ । जस मध्ये सबै भन्दा ठुलो हिस्सा नबिल बाट आउनु पर्ने छ । कम्पनीका अनुसार नेपाल बंगलादेशले सबै भन्दा कम करिब २५ हजार कित्ताको रकम दिन बाँकि छ । त्यसपछि बिओके क्यापिटलले करिब १ लाख ७५ हजार कित्ता र नबिलले करिब २ लाख कित्ता खरिद गरेर त्यसको रकम दिन बाँकि रहेको कम्पनीले जनाएको छ।

 कम शेयर सुचिकृत गराउन क्यापिटल कै दबाब 

पुरै पैसा नदिएर यी ३ क्यापिटलले ५ लाख कित्ता कम शेयर सुचिकृत गराउन दबाब दिएका थिए । शेयर सूचीकरण किन ढिलाई भएको भन्दै 'पब्लिक प्रेसर' समेत आएको बेला कम्पनी यसो गर्न राजी देखियो । सोहि अनुसार कम्पनी र क्यापिटल मिलेर बोर्डमा आग्रह गरेका थिए । स्रोत भन्छ 'यसलाई बोर्डले अनुमति दिनेमा सबै क्यापिटल 'कन्फीडेन्ट' थिए' । तर बोर्डले शेयर निष्काशन हुनु भन्दा अगाडी भएकै सम्झौता पूर्ण पालना गर्नु पर्ने र शेयर निष्काशन गरिएपछिको दुईपक्षीय सम्झौता कानुनीरुपमा मान्य नहुने बताएको हो । स्रोत भन्छ ' बोर्डले कम शेयर सुचिकृत गर्न नमिल्ने र ३ क्यापिटलबाट असुल गर्नु पर्ने ५ करोड समेत असुल गरेर सबै शेयर एकै पटक सुचिकृत गर्नको लागि भनेको छ' । यस संगै बाँकि पैसा दिन क्यापिटलहरु बाध्य भएका छन् । 

सूचना लुकाउन क्यापिटलको दबाब

उता कम पैसा दिएको क्यापिटलले मिडियालाई सूचना नदिन दबाब दिएको तथ्य बिजपाटीलाई प्राप्त भएको छ । पुरा पैसा नदिएको समाचार सार्वजनिक भएपछि नबिल इन्भेस्टमेन्टले कम्पनीलाई 'मिडियालाई किन जानकारी दिएको' भन्दै मौखिक रुपमा अशन्तुष्टी जनाएका हुन् । कम्पनी स्रोतले भन्यो 'उहाँहरुले त्यो सूचना तपाईले किन मिडियामा दिनु भएको, नदिएको भए पनि हुने' भन्दै अशन्तुष्टी प्रकट गर्नु भएको छ' ।

सोहि कारण कम्पनीले समेत कुन क्यापिटलले कति कित्ता सकार्नु पर्ने छ भन्ने भन्ने जानकारी  दिन आनाकानी गरिरहेको छ । पूर्ण जानकारी दिन कार्यालय मै आउँन आग्रह गरेको कम्पनीले कार्यालय मै जाँदा समेत त्यसको जानकरी आफु संग नभएको भन्दै पूर्ण विवरण दिन अस्विकार गरेको हो । उता क्यापिटल आफै पनि यो प्रसङ्ग सार्वजनिक नहोस भन्दै झुटको खेति गर्दै छन् । नबिल कै उच्च तहका कर्मचारीहरुले आफ्नो भागमा आएको सबै पैसा तिरेको दाबी गरेका छन् ।

नबिलका एक उच्च अधिकारीले बिजपाटीसँग भने ' हामीले सबै पैसा दिईसकेका छौ, थप विवरण चाहिए बिक्रि प्रबन्धकसँग कुरा गर्नु' । अर्थात् कम्पनी बिक्रि प्रबन्धकलाई देखाएर पन्सिन खोजेको छ। कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल थियो ।  ग्लोबल आईएमई क्यापिटलको जिम्मेवारी सर्वसाधारणको शेयर बाँडफाँड गरे संगै सकिएको छ।  यो मामिला कम्पनी र प्रत्याभूतकर्तासंगको मात्र हो । बिक्रि नभएको शेयरको लागि प्रत्याभूतकर्ता र कम्पनीको सम्झौता हुने भएकाले बिक्रि नभएको शेयरको जिम्मा स्वयं कम्पनी कै हुन्छ । 

शेयर बिक्रि हुने अनुमान लगाउदै कमिशन पाउने आशामा आफ्नो क्षमता भन्दा बढी शेयर प्रत्याभूत गर्दा प्रत्याभुतकर्ताहरु समस्यामा परेका हुन्। आईपिओ निष्काशन गर्ने कम्पनीले प्रत्याभूतकर्तालाई उनीहरुले प्रत्याभूत गरेको रकमको ०.५ प्रतिशत कमिशन दिन्छ । यहि कमिशनको आशमा हचुवाको भरमा शेयर प्रत्याभूत गरेका कम्पनीले अहिले प्रत्याभूत गरेको शेयर बराबरको रकम दिन आनाकानी गरेका हुन् । 

कहिले होला शेयर सूचीकरण ?

बोर्डले क्यापिटलसंग बाँकि ५ करोड पनि असुल्न निर्देशन दिएसंगै यस सातामा रकम प्राप्त हुने र आगामी शुक्रबारसम्ममा शेयर सूचीकरणको लागि निवेदन दिन सकिनेमा कम्पनी विश्वस्त देखिएको छ । उता बोर्डले पुरै रकम नदिए क्यापिटललाई कारवाही हुने चेतावनी समेत दिएको छ । 

शेयर सूचीकरणमा ढिलाई हुँदा कम्पनीको शेयर किनेका सर्वसाधारण भने मर्कामा परेका छन् । शेयर सूचीकरण नभएर कारोबार नहुँदा उनीहरुको करोडौको सम्पत्ति बन्धक भएको हो । सर्बसाधारणसंग कम्पनीको ३० लाख ९३ हजार २ सय ५० कित्ता शेयर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved