एनएमबि र नेपाल बैंकको एफपिओको कन्त बिजोग हुँदा शिवम सिमेन्टको हालत झन के होला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 12:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बजार मूल्यकै हाराहारीमा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गरेका एनएमबि र नेपाल बैंकको एफपीओमा लगानीकर्ताले चाँसो दिएका छैनन। बुटवल पावरको एफपीओबाट पाठ नसिकेका यी बैंकहरुले प्रत्याभूतकर्ताकै भर परेर निष्काशन गरेको एफपीओमा अहिलेसम्म परेको आबेदनबाट पनि लगानीकर्ताले रुची नदेखाएको पुष्टि हुन्छ। 

बियरिस ट्रेन्डमा रहेको शेयरबजारमा यी दुई बैकको शेयर मुल्यमा पनि गिरावट आउने क्रम जारि छ। शेयरबजारको गति यस्तै रहनेहो भने यी दुई बैंकका एफपीओ खरिदकर्ताले एफपीओ बाँडफाँड अगाडी नै नोक्सानीको भार बोक्नुपर्ने निश्चित छ। जानी जानी नोक्सानी बेहोर्नुपर्ने डरकै कारण व्यक्तिगत मात्र नभई संस्थागत लगानीकर्ताले समेत यी दुवै बैंकको एफपीओमा रुचि नदेखाएका हुन।

असार १५ गतेदेखि बिक्रि खुला भएको नेपाल बैंकको एफपीओमा दुई दिनमा ४ हजार ९२१ आवेदकबाट ५ करोड २५ लाख ३८२ रुपैयाँको आबेदन परेको छ। त्यस्तै जेठ ३० गतेदेखि एफपीओ बिक्रि खुला भएको एनएमबि बैंकमा असार १७ गतेसम्म ६२ हजार ४०५ आवेदकबाट २ अर्ब ४७ करोड ८ लाख ५६ हजार १३० रुपैयाँ बराबरको आबेदन परेको छ। जसमा ६० संस्थागत आवेदकबाट २२ करोड ९८ लाख रुपैयाँ बराबरको आबेदन परेको छ।  

असार १७ गते दोस्रो बजारमा एनएमबि बैंकको शेयर प्रति कित्ता ३४२ रुपैयाँमा कारोबार भएको थियो भने नेपाल बैंकको २८९ रुपैयाँमा कारोबार भएको थियो। बजार मुल्य भन्दा थोरै अन्तर रहेर एनएमबिले प्रति कित्ता ३३३ र नेपाल बैंकले २८० मा निष्काशन गरेको एफपीओं बिक्रि नहुँदा प्रिमियममा आइपीओ निष्काशनको पाइपलाइनमा रहेका शिवम सिमेन्ट लगायतका कम्पनीहरुको मनोबल समेत प्रभावित भएको छ। 

२८ बाणिज्य बैंकहरुमा राम्रै वित्तीय अवस्था भएको एनएमबि बैंक र पछिल्लो क्रममा प्रगतिको बाटोमा हिंडेको नेपाल बैकको एफपीओको यस्तो 'कन्त बिजोग' हुँदा अन्टेस्टेड शिवम सिमेन्टको हालत के होला भन्ने चर्चा उत्तिकै छ। नेपाल राष्ट्र बैंकको नियमनमा रहेर चुस्त रुपमा अगाडी बढिरहेका बैंकहरुको एफपीओमा लगानीकर्ताको यस्तो प्रतिकृया छ भने मुस्किलले एउटा वित्तीय विवरण देखाएको र नियामक नै नभएको शिवम सिमेन्टको आइपीओको हालत के होला ?  

दोस्रो बजारमा आइपीओकै मुल्यमा राम्रा राम्रा कम्पनीहरुको शेयर किन्ने अवसर हुँदा समेत लगानीकर्ताले खरिदमा हिम्मत देखाउन सकेका छैनन, जस कारण कुनै बेला अर्बको कारोबार सामान्य हुने शेयरबजारमा अहिले औषतमा मुस्किलले २५ करोडको कारोबार हुने गरेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई प्रति कित्ता ४०० मा आइपीओ बिक्रि गर्ने योजनामा रहेको शिबमको हालत के होला भन्ने विश्लेषण गर्न थालिएको छ। 

नियामकको अभाब र धितोपत्र बोर्डको कम्जोर नियमनकै कारण नेप्सेमा सुचिकृत शिबम सिमेन्टकै प्रकृतिका डेढ दर्जन उत्पादक कम्पनीहरु मध्ये केहि मात्र अस्तित्वमा छन। राजुपति जुट्स मिल लगायतका दर्जन कम्पनी कहाँ कुन अवस्थामा छन भन्ने कुरो स्वयम नेप्से र धितोपत्र बोर्डलाई समेत थाहा छैन। नियमित नियमन हुने बैंकहरुको एफपीओ भन्दा बढी मुल्यमा आइपीओ बेच्ने शिबमको योजना कति सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ।    

 


     


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved