फ्रान्सले विश्वकप २०१८ को उपाधि जितेको छ। फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै रसियामा आयोजित विश्वकप २०१८ को उपाधि जितेको हो। यससंगै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि हासिल गरेको हो। यस अघि सन १९९८ मा फ्रान्सले घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।
विश्वकप फाइनलमा पहिलो पटक पुगेको क्रोएसियालाई ४-२ ले पराजित गर्ने क्रममा फ्रान्सले पहिलो सफलता आत्मघाती गोल मार्फत प्राप्त गरेको हो। खेलको १८ औं मिनेटमा क्रोएसियाका मारियो मेडजुकिचले आत्मघाती गोल गर्न पुगे।
त्यस्तै खेलको २८ औं मिनेटमा पाएको क्रोएसियाका पेरेसिचले गोल गर्दै टिमलाई १-१ को बराबरी दिलाए। क्रोएसियासंगको बराबरीलाई तोड्दै खेलको ३८ औं मिनेटमा भीएआर को निर्णयबाट पाएको पेनाल्टी सुटआउट मार्फत गिर्जमेनले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए।
पहिलो हाफमा २-१ को अग्रता लिएको फ्रान्सले खेलको ५९ औं मिनेटमा पाल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए। लगत्तै फ्रान्सका एमबापेले थप एक गोल गर्दै फ्रान्सलाई ४-१ को अग्रता दिलाए। खेलमा फर्किने प्रयासमा रहेको क्रोएसियालाई ६९ औं मिनेटमा एक गोल दिलाउदै क्रोएसियाका मारियो मेडजुकिचले क्रोएएसियालाई ४-२ को गोल अन्तरमा पुर्याए। तर खेलमा फर्किन नसक्दा क्रोएसियाले दोस्रो स्थानमा नै चित्त बुझाउन पर्यो।
विश्वकप २०१८ को उपाधि जित्दै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसंगै ३९ मिलियन डलर अर्थात झन्डै ४ अर्ब रुपैयाँ पुरस्कार जितेको छ भने दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर, तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर र चौथो भएको इंग्ल्याण्डले २२ मिलियन डलर पुरस्कार जितेका छन।