निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।
प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् बनेका थिए ।