नेपालमा डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाली अर्थतन्त्रलाई फाइदा कि घाटा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 08:25:30 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्। देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्‍याउने सम्भावना रहे पनि ठूलो मात्रामा डलरमा हुने आयातले अर्थतन्त्रका लागि जोखिम उत्तिकै रहने उनीहरूको चिन्ता छ। नेपाल राष्ट्र बैंकका अनुसार म‌ङ्गलवार एक अमेरिकी डलर बराबर ११२ दशमलव २० रुपैयाँमा झरेको छ। टर्कीको मुद्रा लिराको गिरावटका कारण उत्पन्न त्रासले भारतसहितका उदाउँदा अर्थतन्त्रका मुद्रामा परेको असरले नेपाली रुपैयाँमा पनि प्रभाव परेको बताइएको छ।

नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमय प्रणालीमा बाँधिएको छ। अमेरिकासँग तनाव बढ्दै गएपछि टर्कीको लिराको भाउमा आएको गिरावटका कारण आज भारुले एशियाली मुद्राहरूमध्ये सबैभन्दा खराब प्रदर्शन गर्‍यो। एक डलरको तुलनामा भारु ७०.०७ को विन्दुमा पुगेको छ जुन अहिलेसम्मकै न्यून हो। त्यसकै सीधा प्रभाव नेपाली रुपैयाँमा परेको छ। अमेरिका र टर्कीको तनाव कायम रहे नेपाली मुद्रामा लामो समय प्रभाव रहिरहन सक्ने नेपाल राष्ट्र बैंकका एक वरिष्ठ अधिकारी बताउँछन्। राष्ट्र बैंकका वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना भन्छन्, "यही कारणले लामो समय जाँदैन। तर यो बिग्रिँदै गयो, टर्की र अमेरिकाबीच व्यापार युद्ध नै भयो र व्यापारको लहर रूसतिर मोडियो भने त्यसले दीर्घकालिन असर पार्नसक्छ।"

पछिल्ला तथ्याङ्कहरूले भने अमेरिकी अर्थतन्त्रले मुद्रास्फीति बाहेकका अन्य सूचकहरूमा राम्रो प्रदर्शन गरिरहेको र उसको माग उच्च रहेको देखाएका छन्। तर आफ्नो व्यापार र उद्योगको एउटा ठूलो हिस्सा टर्कीमा राखेका युरोपेली मुलुकका मुख्य मुद्रा युरो र पाउन्ड स्टर्लिङको पनि अवमूल्यन भइरहेको छ। यद्यपि यो उतारचढाव नेपालको नियन्त्रणमा नरहेकाले उसले फाइदाका क्षेत्रहरू पहिचानमा जोड दिनुपर्ने अर्थशास्त्रीहरू बताउँछन्। अर्थशास्त्री केशव आचार्यको भन्छन्, "नत्र यसले जनतालाई महँगी, सरकारलाई विदेशीको ऋण र डलरमै खरिद हुने विद्युत्‌को मूल्यस म्ममा असर पारेर व्यापार घाटाको अवस्था झनै दयनीय हुनसक्छ।" निर्यातलाई प्रोत्साहन दिनसकिने क्षेत्रमा सरकारले त्यसो गर्नुपर्ने र आयात घटाउनेबारे सोच्नुपर्ने उनीहरूको मान्यता छ।

अहिले विदेशमा रहेका नेपालीहरूले पठाउने विप्रेषण आय (रेमिट्यान्स) यस्तै बेला बढी भित्रने प्रवृत्ति रहेकोले त्यसले नेपाललाई फाइदा हुनसक्ने अर्थशास्त्रीहरूको धारणा छ । राष्ट्र बैंकसँग समेत अहिले डलर सञ्चयको अवस्था बलियो रहेकोले तत्काल धेरै चिन्तित नहुनुपर्ने उनीहरूको भनाइ पाइन्छ। तर विप्रेषण कमजोर भएको अवस्थामा यस्तो अवमूल्यनले नेपालको अर्थतन्त्रलाई फाइदा नगर्ने उनीहरू बताउँछन्। अर्थशास्त्री शंकर शर्मा भन्छन्, "यसले धेरै नकारात्मक प्रभाव भन्दा थोरै सकारात्मक प्रभाव पार्छ भन्ने मलाई लाग्छ। अहिलेको परिवर्तन निकै ठूलो पनि होइन।" यस्तो बेला भारतसँग रहेको नेपालको मुद्रा अनुबन्धनलाई लिएर पुर्नविचार गर्नुपर्ने कुराहरू उठ्ने गर्छन्। तर भारतसँग रहेको ठूलो व्यापार र अनौपचारिक अर्थतन्त्रले गर्दा त्यसो गर्नु झन् बढी प्रत्युत्पादक हुनसक्ने एकथरी विज्ञहरू बताउँछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved