सन्दिप अर्को सिजनमा पनि दिल्लीसंगै रहने सम्भावना कति ? यस्तो छ अनुबन्धन सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 23, 2018 | 08:09:42 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको व्यावसायिक क्रिकेट लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर विश्वव्यापी चर्चा र प्रशंसा बटुलेका १७ वर्षीय नेपाली खेलाडी सन्दीप लामिछाने मङ्गलवार स्वदेश फर्किएका छन्।दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेलेर उनले पाँच विकेट लिएका थिए। उनको खेलको प्रशंसा उनको क्लबका समर्थक र नेपाली क्रिकेटप्रेमीले मात्र हैन, दिग्गज क्रिक्रेट खेलाडी र खेल समीक्षकले पनि गरेका छन्। सन्दीपजस्ता खेलाडीलाई सुरुमै खेलाएको भए दिल्ली डेयरडेभिल्सका पक्षमा सुरुका खेलहरूको नतिजा जानसक्थ्यो भनेर कपिल देवलगायत अन्य विश्लेषकहरू पनि भनेका थिए।

काठमाण्डू फर्किएपछि बीबीसी न्यूज नेपालीसँग भारतमा गरेको खेल यात्राबारे सन्दीपले आफ्नो अनुभव साटे। आईपीएलमा पाएको अवसरलाई "मेहनत र भाग्य" को सम्मिश्रणका रूपमा प्रस्तुत गर्दै उनले भने, "टोलीको ११ खेलाडीमा परेर खेल्ने सबैको इच्छा हुन्छ, मेरो पनि थियो।" उनले भने, "मेरा लागि हरेक कुरा चुनौती होइन, अवसर हो। मलाई सधैँ राम्रो गर्ने भोक जागेको छ। र म त्यो गर्न चाहन्छु।"

पहिलो खेलमै विश्वका दुई चर्चित खेलाडी भारतीय कप्तान विराट कोहली र दक्षिण अफ्रिकाका एबी डी भिलियर्सविरुद्ध बलिङ गर्न पाउँदाको अनुभव रह्यो त? उनले भने, "इमान्दार भएर भन्नुपर्दा मैले के सोचेको थिएँ भने यदि म यो स्तरमा खेल्न आएको छु भने ममा पक्कै पनि केही क्षमता छ र मैले त्यो देखाउनुपर्छ।" उनी टी-२० को खेलमा पहिलोचोटि खेल्दै थिए, त्यो पनि पहिलो ओभर बलिङ गर्ने अभिभारासहित। त्यही खेलमा उनले पार्थिव पटेलको विकेट लिए।

जाँदा र आउँदाको सन्दीपमा के फरक छ त? उनी भन्छन्, "खास केही फरक छैन। फरक यति हो कि मैले माया अझ धेरै पाएको छु।" उनका अनुसार राष्ट्रिय टिम बाट खेल्दा जति दबाब अनुभव हुन्थ्यो त्यति आईपीएलमा भएन। "मलाई के विश्वास थियो भयो यदि म राष्ट्रको प्रतिनिधित्व गर्न सक्छु भने आईपीएलमा पनि खेल्न सक्छु।"

वेस्ट इन्डिजको क्यारिबियन लिगका लागि क्रिश गेलको क्लबको पनि छनोटमा परेका सन्दीप अस्ट्रेलियाको व्यावसायिक क्रिकेट 'बिग ब्याश'मा जाने सम्भावनालाई नकार्दैनन्। उनी भन्छन्, "एउटा खेलाडीको रूपमा म हरेक खेल खेल्न चाहन्छु। त्यो बिग ब्याश पनि हुन सक्छ।" "जसरी आईपीएलका लागि अवसर आयो, त्यस्तै अवसार फेरि आउन सक्छ। तर मलाई के लाग्छ भने हामीले वर्तमानमा नै रहनुपर्छ, बिस्तारै बिस्तारै पाइला चाल्नुपर्छ।

दिल्ली डेयरडेभिल्सको समग्र प्रदर्शनबारे टिप्पणी गर्दै उनले भने, "कहीँ न कहीँ हामी चुक्यौँ। शीर्ष चारमा पर्न सकेको भए अझै राम्रो हुनसक्थ्यो कि...।"

उनको दिल्लीसँगको अनुबन्धन कस्तो हो त? एक वर्षको कि तीन वर्षको?

भन्छन्, "अनुबन्धन एक वर्षकै हुन्छ। तर आईपीएल अक्शन तीन वर्षमा हुन्छ। यदि दिल्लीले बीचमा मलाई छोड्न चाह्यो भने छोड्न मिल्छ। त्यही छोडेका खेलाडीको मात्र अक्शन हुने हो। तर दिल्लीले मलाई विश्वास गरेको छ।" 

सन्दीप आईसीसीले छानेको विश्व ११ टोलीमा पनि परेका छन्। वेस्ट इन्डिजमा रङ्गशाला बनाउन सघाउन मे ३१ मा लर्ड्समा आयोजना हुन लागेको खेलमा उनले खेल्नेछन्। "त्यसपछि लर्ड्समै नेपालबाट इङ्ग्ल्यान्ड र नेदर्ल्यान्ड्ससँग खेल्नुछ। बीचमा घरेलु प्रतियोगिताहरू पनि खेल्छु। पछि क्यारिबियन लिग खेल्न जान्छु।" बिबिसी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved