ऐतिहासिक जितपछि पारसले भने 'यो सुरुवात मात्रै हो' (भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 29, 2019 | 08:31:48 AM मा प्रकाशित

laxmi  sunrise bank

यूएईलाई एकदिवसीय क्रिकेट शृङ्खलामा पराजित गरेर ऐतिहासिक सफलता हासिल गरेपछि नेपालका कप्तान पारस खड्काले यो विजय सुरुवात मात्रै भएको बताएका छन्। "यो सुरुवात मात्रै हो। भविष्यमा धेरै मौकाहरू आउनेछन् र हामीले राम्रो खेल्न आफूलाई जगाइरहनु पर्छ र यस्तै परिणाम आउने आशा गर्नुपर्छ," खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीसँगको कुराकानीमा भने। 

निर्णायक खेलमा नेपालको लागि पहिलो एकदिवसीय शतक बनाएका कप्तान खड्का सो खेल र पूरै शृङ्खलाको उत्कृष्ट खेलाडी घोषित भएका थिए। "हाम्रो पहिलो एकदिवसीय शृङ्खलामा विजयी भएकोले म खुसी छु। मलाई लाग्छ यो ठूलो जित हो," खड्काले भने। यूएईबाट प्रकाशित हुने समाचारपत्रिका 'द न्याश्नल'लाई खड्काले सोमवार नेपाली क्रिकेटको एउटा उज्यालो दिन भएको बताए। "हाम्रा उज्यालो दिनहरूमध्ये एक हो। महान् दिन भन्न गाह्रो छ किनभने देशका लागि खेल्ने प्रत्येक मौका पाउँदा त्यो दिन भव्य हुन्छ।"

"अबको दुई-तीन वर्षका लागि हामीसँग एकदिवसीय क्रिकेट खेल्ने मान्यता छ र क्रिकेट विश्वमा पहिचानका लागि यस्ता थप नतिजाहरू चाहान्छौ," खड्काले भने।

नेपाली क्रिकेट खेलाडी र समर्थकहरूले गत वर्ष मात्रै एकदिवसीय क्रिकेट खेल्न मान्यता पाएको नेपालको पहिलो शृङ्खला उपाधिको विजयोत्सव मनाइरहेका छन्। दुबईको मैदानमा पनि सयौँको सङ्ख्यामा नेपाली समर्थकहरू पुगेका थिए। "हाम्रो उत्साहको एउटा सबैभन्दा ठूलो कारक समर्थकहरू नै हुन्। जहाँ खेल्न गएपनि हामी समर्थन पाउँछौँ," खड्काले भने। सोमवार खेलपछि ट्वीट गर्दै खड्काले लेखेका थिए, "हाम्रो पहिलो एकदिवसीय शृङ्खला विजय… खेलाडी र व्यवस्थापनको तर्फबाट अद्भुत समूहगत प्रयास, भावना र प्रतिबद्धता… आशीर्वाद, समर्थन र कृतज्ञताका लागि सबैलाई धन्यवाद… जय नेपाल!"

नेपालले निर्णायक तेस्रो खेल चार विकेटले जितेर तीन खेलको शृङ्खला २-१ ले जितेको हो। दुबईमा भएको पहिलो खेलमा तीन विकेटको पराजय भोगेको नेपालले दोस्रो खेल भने १४५ रनको विशाल अन्तरले जितेको थियो। शुक्रवार भएको पहिलो खेलमा भने नेपाल यूएईसँग तीन विकेटले पराजित भएको थियो। 

खड्काले आफ्नो टोलीका खेलाडीहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन्। "म खेलाडीहरूबाट खुसी छु। सबैजना ज्यादै मिहेनत गरिरहेका छन्," द न्याश्नलसँग उनले भने। "हाम्रो टोली युवा छ र हामी यो टोलीको विशेषताको आधारमा टोली बनाउन प्रयासरत छौँ। परिणाम हाम्रो पक्षमा आयो तर हामी अझै धैर्यवान् हुनुपर्छ।"


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved