पहिलो टि २० मा नेपाल पराजित, डेब्यु खेलमै सन्दीप जोराको विश्व किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 06:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका सन्दीप जोराले प्रभावशाली ब्याटिङ गरे पनि नेपाल पहिलो टी-२० खेलमा यूएईसँग २१ रनले पराजित भएको छ। सत्र वर्ष १०३ दिनको उमेरमा उनले बनाएको अविजित ५३ रनले टी-२० अन्तर्राष्ट्रिय खेलमा नयाँ कीर्तिमान राखेको छ। आईसीसीका अनुसार आफ्नो डेब्यूमा अर्थशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन्। तर उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई जिताउन सकेन।

नेपाललाई हराएर यूएईले तीन खेलको शृङ्खलामा १-० ले अग्रता लिएको छ। टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन सक्यो। नेपालले पहिलो बलमा नै प्रदीप ऐरीलाई गुमाएपछि ब्याटिङमा सम्हालिन सकेन। तेस्रो क्रममा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले सात रन मात्रै बनाए भने दीपेन्द्र सिंह ऐरी चार रनमा आउट भए। 

कप्तान पारस खड्का २५ बलमा २५ रन बनाएर आउट हुँदा नेपालको ४८ रनमा चार विकेट गइसकेको थियो। जोराले एकातर्फ सम्हालिएर खेले पनि उनलाई साथ दिन आएका रोहित पौडेल र करण केसी चल्न सकेनन्। सोमपाल कामीले १८ बलमा २७ रन बनाएर नेपाललाई लक्ष्यको केहीनजिक पुर्‍याए पनि अन्तिम ओभरहरूमा आवश्यक रन गति राख्न सकेन्। सन्दीप लामिछाने दुई रनमा र जोरा ५३ रनमा अविजित रहे।

जोरा ४१ बलमा तीन चौका र एक छक्का अर्धशतक पूरा गर्दै टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट अर्धशतक बनाउने तेस्रो खेलाडी बने। यसअघि सन् २०१५ मा पारस खड्काले नेदर्ल्यान्ड्सविरुद्ध ५४ रन र सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए। जोरा अर्धशतकतर्फ लम्क‌ँदै गर्दा मैदानमा उपस्थित नेपाली समर्थकहरूले 'सन्दीप जोरा, नेपालका छोरा' नारा लगाएका थिए। तर उनले खेल जिताउन सकेनन् ।

यूएईको सुरुवात राम्रो थिएन। सोमपाल कामीपछि बलिङ गर्न आएका सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएपछि घरेलु टोली दबावमा परेको थियो। पाँच ओभरको समाप्तिमा २४ रनमा २ विकेट गुमाएको यूएईलाई मध्यक्रमले बचाएको थियो। साइमन अनवरले ५९ रन बनाए भने मोहम्मद उस्मानले ३०, अर्का ओपनर सीपी रिजवानले २२ र मोहम्मद बूटाले अविजित २० रन बनाएका थिए। नेपालका लागि सन्दीपले दुई र वसन्त रेग्मीले दुई विकेट लिएपनि अन्य बलरले दबाव कायम राख्न सकेनन्। करण केसीले दुई ओभरमा १६-१६ रन र चार ओभरमा ४३ रन दिएर सबैभन्दा महँगा बलर भए। पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलिरहेका अविनाश बोहोराले चार ओभरमा ३६ रन दिएर एक विकेट लिए। अन्तिम तीन ओभरमा भने जम्मा १८ रन लिन सकेको यूएईको रन गति अन्त्यमा केही कम भएको थियो।

बिहीवार नेपालका तर्फबाट रोहित पौडेल, सन्दीप जोरा र अविनाश बोहोराले आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेले। नेपालगन्जका तेज गतिका बलर बोहोराले एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सका तर्फबाट खेल्दै आठ खेलमा सात विकेट लिएका थिए। अविनाश १९ वर्षको मुनिको टोलीबाट नखेलि सिधै राष्ट्रिय टोलीका मौका पाउने थोरै खेलाडीमध्ये एक हुन। हालैका दिनहरूमा त्यसरी मौका पाउनेहरूमा सोमपाल कामी र विनोद भण्डारी रहेका छन्। कञ्चनपुरका जोरा भने यू १९ टोलीमा राम्रो प्रदर्शन गरेर आएका खेलाडी हुन्। अलराउन्डर जोराले यूएईविरुद्धको अन्तिम एकदिवसीय खेलमा डेब्यू गर्दै १९ रन बनाएका थिए।

धनगढी प्रिमियर लिगको आगामी संस्करणका लागि सीवाईसी अत्तरियाले जोरालाई दुई लाख ३० हजारमा किनेपछि उनी महँगा खेलाडीमध्ये एक भएका थिए।  दुई वर्षअगाडि यू १९ एशिया कपमा भारतलाई हराउँदा शानदार प्रदर्शन गरेका पौडेलले भने यूएईविरुद्धको खेलमा अर्धशतक बनाउदै सचिन तेन्दुलकर र शाहिद आफ्रिदीको सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान तोडेका थिए। नवलपरासीका पौडेल मध्यक्रममा टिमको आवश्यकता अनुसार ब्याटिङ गर्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्। 

नेपाली दोस्रो टी-२० शुक्रवार र अन्तिम खेल आइतवार खेल्ने कार्यक्रम छ। बिहीवारको खेल सन् २०१४ को टी-२० विश्वकप खेलेको नेपालले सन् २०१५ मा आयर्ल्यान्ड र स्कट्ल्यान्डमा भएको विश्वकप छनोट खेलयता खेलेको पहिलो खेल हो। नेपालले हालसम्म १३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा तीनमा जित हासिल गरेको छ। सन् २०१८ मा लर्ड्स मैदानमा नेदर्ल्यान्ड्ससँगको खेल वर्षाका कारण अवरुद्ध भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved