
अर्थ मन्त्रालयले फागुन महिनामा डेढ अर्ब बढी रकम रकमान्तर गरेको छ । फागुनमा ४ वटा आयोजनाको १ अर्ब ६५ करोड रकम अर्को आयोजनामा रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुढी गण्डकी जलविद्युत आयोजनाको ४० करोड रकम नदी नियन्त्रण शिर्षक अन्तर्गत नारायणी नदी व्यवस्थापन आयोजना अन्तर्गत चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणको लागि रकमान्तर गरिएको छ ।
त्यस्तै बुढी गण्डकी जलविद्युत आयोजना कै १ अर्ब रकम सुनकोशी मरिन डाइभर्जन आयोजनाको सुरुङ निर्माणको लागि रकमान्तर गरिएको छ । उत्तर दक्षिण राजमार्ग (कर्णाली-कालीगण्डकी-कोशी ) राजमार्गको १० करोड रकम मदन भण्डारी राजमार्ग (बाहुनडाँगीदेखि रुपाल खण्ड)को लागि रकमान्तर गरिएको छ ।
त्यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तोरोन्नती कार्यक्रमको १५ करोड रकम सुर्यविनायक धुलिखेल सडक खण्ड तथा कोटेश्वर बानेस्वर त्रिपुरेश्वर सडक खण्डको लागि रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसमा पुँजीगत तर्फको १ करोड भन्दा बढी रकमको बजेट मात्र उल्लेख गरिएको छ ।