झन्डै १० प्रतिशतले बढ्यो राजश्व संकलन, आन्तरिक र भन्सारतर्फको योगदान कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 07:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको आठ महिनामा झन्डै दश प्रतिशतले राजश्व संकलन बढेको छ। चालू आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ३९ अर्ब चार करोड ६० लाख रुपैयाँ राजश्व संकलन भएको छ। जुन गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा ९.६६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा ५ खर्ब ८२ अर्ब ७७ करोड १२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। 

गत आर्थिक वर्षको तुलनामा करिव दश प्रतिशतले राजश्व बढे पनि सरकारले लिएको राजश्व संकलनको लक्ष्य भन्दा करिव २६ प्रतिशतले कम हो। सरकारले यस अवधिसम्ममा ८ खर्ब ६४ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो। 

यस अवधिमा आन्तरिक राजश्व विभागले ३ खर्ब ११ अर्ब ९१ करोड १७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ भने भन्सार विभागले २ खर्ब ६६ अर्ब ७६ करोड राजश्व संकलन गरेको छ। जुन गत आर्थिक वर्षको यस अवधिसंगको अवधिसंगको तुलनामा आन्तरिक तर्फ ९.९९ प्रतिशतले तथा भन्सार तर्फ ९.८६ प्रतिशतले बढी हो। 

आयकरतर्फ एक खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ भने भ्याट शिर्षकमा १ खर्ब ९० अर्ब ७३ करोड १८ लाख संकलन भएको छ। त्यस्तै उत्पादन सेवा बापत भ्याट ७५ अर्ब ३३ करोड ७३ लाख उठेको छ। यता आयात बापत भ्याट एक खर्ब १५ अर्ब ३९ करोड संकलन भएको छ।   

आयकर र मुल्य अभिवृद्धि कर संकलनमा उल्लेख्य वृद्धि भएकाले आन्तरिक राजश्व संकलन बढ्न मद्दत पुगेको आन्तरिक राजश्व विभागले जनाएको छ। चालू आर्थिक वर्षमा हवाई कम्पनीले तिर्नुपर्ने भ्याट, विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क, वैदेशिक रोजगार सेवा शुल्क जस्ता नयाँ किसिमका कर थपिएकाले आन्तरिक राजस्व संकलन बढ्नमा मद्दत पुगेको हो।  

त्यस्तै सरकारले आठ महिनामा ८ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ। यस अवधिमा भएको कुल खर्चमा राजश्वको योगदान ७९.७२ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको यस अवधिमा कुल खर्चमा राजश्वको योगदान ७४.७८ प्रतिशत थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved