
एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १९ अर्ब माथि पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीको जीवन बीमा कोष १९ अर्ब ३१ करोड ७२ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।
जीवन बीमा कोष १९ अर्ब माथि रहेको एशियनले दोस्रो त्रैमासको अवधिमा दुई अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ७३ करोड ४८ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
यस अवधिमा कम्पनीले २ लाख ८३ हजार ३९५ बीमालेख जारी गरेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ४२ करोड २६ लाख ५३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले ६ हजार ७६४ दावी वापत सो रकम भुक्तानी गरेको हो । कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम दुई करोड ७ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी संख्या ८५ रहेको छ ।
बीमाङकीय मूल्याङ्कन अघिको कम्पनीको खुद नाफा १२ करोड १३ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो नाफा बीमाङ्कीय मूल्याङ्कन पछि फेरबदल हुन सक्ने छ ।
चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।