
जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर ३९ अर्ब बढी कर्जा दिएका छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीले २५ अर्ब ५८ करोड ११ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा दिएका थिए ।
यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफले बीमालेख धितोमा कर्जा दिएको छ । यस अवधिमा नेपाल लाइफका बीमितले धितोमा कर्जा १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ लिएका छन् । गत आवको सोही अवधिमा कम्पनीले बीमालेख धितोमा १० अर्ब १० करोड ९९ लाख रुपैयाँ दिएको थियो ।
नेपाल लाइफ पछि बीमालेख धितोमा कर्जा एलआइसी नेपालले दिएको छ । यस अवधिमा कम्पनीले बीमालेख धितोमा कर्जा ११ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ दिएको छ । त्यस्तै, प्राइम लाइफले यस अवधिमा एक अर्ब ९ करोड २१ लाख, राष्ट्रिय बीमा संस्थानले एक अर्ब ६२ करोड ४७ लाख, एशियन लाइफले एक अर्ब ९२ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
ब्याजदर कति ?
बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने कम्पनी अनुसार फरक फरक हुने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । बीमालेख धितोमा कर्जा दिँदा यति नै ब्याजदर भनेर समितिले नतोकेको उनले बताए । बीमा कम्पनीहरु स्वमले नै ब्याजदर निर्धारण गर्ने उनको भनाई छ । बीमालेख धितोमा कर्जा दिँदा कम्पनीहरुलाई खासै जोखिम नहुने उनले बताए । बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउँने छैनन् ।
बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै आफुले लिएको सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आई लागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईने प्रावधान रहेको छ ।
