बीमा समितिले भन्यो ' अस्वस्थ प्रतिस्पर्धा रोक्न बीमा प्रिमियम बढाएर तोकिएको हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 05:22:40 PM मा प्रकाशित

laxmi  sunrise bank

 बीमा समितिले  व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यका साथ बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर लागु गरेको जनाएको छ । विभिन्न संस्थाहरुले समितिले एकतर्फी रुपमा बीमाको प्रिमियम ३० गुणासम्म बढाएको भन्दै विरोध गरेपछि समितिले यसबारे प्रष्टीकरण दिएको हो  ।

निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समितिसमक्ष आग्रह गर्दै आएकोले (Minimum Premium Rate For Non Tariff Insurance Business) जारी गरिएको समितिले जनाएको छ। समितिले भनेको छ 'यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेका र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले समितिले न्यूनतम प्रिमियम दर तोक्नु परेको हो ।'

जीवन बीमा वा निर्जीवन बीमा जुन गरे पनि बीमितको बीमा रकम सुरक्षित रहनुपर्दछ र बीमा कम्पनीहरुसँग भएका सम्झौता अनुसार बीमितले समयमा नै दाबी भुक्तानी पाउनुपर्दछ भन्नेमा समितिले जोड दिँदै आएको र सोही अनुसार बीमा कम्पनीहरुलाई निर्देशन दिने काम समेत हँुदै आएको समितिले उल्लेख गरेको छ । 

समितिले भनेको छ 'नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाले अन्तर्राष्ट्रियरुपमा समेत मान्यता पाउनेखालको हुनु आवश्यक छ । यसो भएमा नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाको पुनर्बीमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुमा समेत हुने र बीमा कम्पनीहरुसँग भएको सम्झौता अनुसार बीमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहन्छ ।'

मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न समिति सदैव तत्पर रहेको समितिले जनाएको छ । न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई समितिले सकारात्मकरुपमा लिने पनि समितिले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved