धादिङ र चितवनमा बीमा सम्बन्धी अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 02:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आज आयोजित बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले आर्थिकरूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्न आग्रह गरे।

कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिनका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिए ।कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमाप्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नै गर्नुपर्ने बताए ।

यसैगरी, नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्ने जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन र शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न आग्रह गरे ।

कार्यक्रमहरूमा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका प्रतिनिधि, अगुवा कृषक, कृषि तथा पशु प्राविधिक, बीमा अभिकर्ता, संचारकर्मीहरू लगायतको सहभागिता रहेको प्राधिकरणले जनाएको छ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा यही माघ १८ गते गण्डकी प्रदेशको गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बीमा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजरा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा गाउँपालिकाभित्रका सबै नागरिकको दुर्घटना बीमा र घरहरूको सम्पत्ति बीमा गर्ने, सरकारी सम्पत्तिहरूको बीमा गर्नका लागि आवश्यक कार्य अगाडि बढाउने, कृषि तथा पशुपन्छी बीमा र कृषि औजारहरूको बीमा क्रमिक रूपमा गर्दै जाने लगायतका विषयहरू उल्लेख गरिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved