बीमा कम्पनीको ४५ करोड काटिने गरी कृषि विभागले किन गर्यो भूतप्रभावी निर्णय ?

भीमा पन्थी/बिजपाटी

भीमा पन्थी/बिजपाटी

Mar 19, 2023 | 05:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गएको आर्थिक वर्ष असोजदेखि चैतसम्मको ६ महिनामा बीमा कम्पनीहरुले जारी गरेका कृषि तथा पशुपंक्षी बीमालेखमा उल्लेख २ अर्ब ४ करोड ८९ लाख ९६ हजार रुपैयाँ बीमाङ्क रकम कायम गरी बीमा प्राधिकरणमा पेश गरेका थिए । प्राधिकरणले आवश्यक प्रक्रिया पुरा गरी बीमा अनुदानका लागि कम्पनीका फाइलहरु कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तरगत रहेको कृषि विभागमा पठायो । 

विभागले वैशाखमा गरेको निर्णयको आधारमा भुत–प्रवभावी हुँदै ४५ करोड २९ लाख ६१ हजार रुपैयाँ कटौती गरी एक अर्ब ५९ करोड ६० लाख ३५ हजार रुपैयाँ मात्रै बीमाङ्क कायम राखी त्यही अनुसारको सहुलियत बीमा झुक्तानीको रकम पठायो ।

यसको प्रिमियममा ८० प्रतिशतले हुन आउने २०७८ साल असोज महिनादेखि २०७८ चैत मसान्तसम्ममा जारी भएका कृषि तथा पशुपंछी बीमालेखको सहुलियत रकम (बीमा शुःल्क) ९ करोड ३८ लाख ३१ हजार रुपैयाँ माग गरेका थिए । विभागले जम्मा ७ करोड ४९ लाख ८८ हजार रुपैयाँ मात्रै भुक्तानी गर्न बीमा प्राधिकरणलाई सिफारिस गरेको छ । विभागले बीमा शुःल्क एक करोड ८८ लाख ४३ हजार रुपैयाँ कटौँती गरेर भुक्तानीकाल लागि सिफारिस गरेको हो ।

आर्थिक वर्ष २०७८÷७९ को असोजदेखि चैतसम्म बीमा कम्पनीहरुले जारी गरेका पशु तथा कृषि बीमालेखमा सरकारले सहुलियतअन्तर्गत दिनुपर्ने प्रिमियम बापतको रकममा गत वैशाखमा गरिएको भुतप्रवाही नयाँ व्यवस्थामाथि टेकेर एक करोड ८८ लाख कम दिएको देखिन्छ । 

बीमा कम्पनीले अस्वभाविक बीमाङ्क तयार पारी बीमा अनुदान भुक्तानीका लागि फाइल पेश गरेको पाइएकाले रकम घटाउनु परेको कृषि विभागको दावी छ । ती कम्पनीले विसं २०७८ असोजदेखि चैतसम्म जारी भएका कृषि तथा पशुपंक्षी बीमालेखमा अस्वभाविक बीमाङ्क कायम गरी पेश गरेकाले रकम काटिएको विभागको भनाइ छ ।

बीमालेखमा उल्लेख नभएको हकमा नेपाल सरकार वा प्रदेश सरकारको विषयगत कार्यालय वा कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा सम्बन्धित उत्पादनक सङ्घ संस्था वा बोर्डले उपलब्ध गराएको (साविकको बजार अनुसन्धान तथा तथ्याङ्क कार्यक्रम) लागत अनुमानको आधारमा बीमाङ्क कायम गर्नुपर्ने व्यवस्था वैंशाखमा निर्णय भएको थियो । सोही आधारमा त्यसअघिको बीमाङ्क रकम कटौती भएको हो ।

बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका–२०७० बमोजिम बनेको बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको गत वैशाख १४ मा बसेको बैठकले सोही निर्देशिकाको बुदा १३ मा बिमाङ्क सम्बन्धित गरेको व्यवस्थालाई परिमार्जन गरि ‘कृषि तथा पशुपंछी बीमा निर्देशिका २०७९ को बुँदा १४ मा समायोजन गरिदियो ।

त्यसअघि भने स्पष्ट कहाँबाट तथ्याङ्क लिने भन्ने अन्यौल देखिन्छ । यता बीमा कम्पनीले भने भुतप्रवाही निर्णय गरेर बीमाङ्क रकम कटौती गर्नु गलत भएको दावी गर्दै आएको छ ।

बढी काटिनेमा नेपाल इन्स्योरेन्स

कृषि विभागले भुतप्रवाही निर्णय गरेर एउटै कम्पनीको करिब ८ करोडसम्म बीमाङ्क कटौती गरेको छ । सबैभन्दा बढी नेपाल इन्स्योरेन्स बीमाङ्क कटौती भएको छ । 

विभागले नेपाल इन्सोरेन्सको मात्रै ७ करोड ९३ लाख ३२ हजार बीमाङ्क कटौती गरेको छ । दोस्रोमा, नेको इन्स्योरेन्सले पेस गरेको बीमाङ्कमा विभागले ६ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको रकम कटौती गरेको छ । 

तेस्रो बढी बीमाङ्क कटौती हुनेमा शिखर इन्स्योरेन्स रहेको छ । उसको ३ करोड ८० लाख ६२ हजार बीमाङ्क कटौती भएको छ । सगरमाथा इन्स्योरेन्सको बीमालेखमा ३ करोड १७ लाख बढी, प्रभु इन्स्योरेन्सको २ करोड ४३ लाख, सिद्धार्थ इन्स्योरेन्सको १ करोड १२ लाख बढी र एभरेष्ट इन्स्योरेन्सको १ करोड १ लाख बढी बीमाङ्क कटौती भएको छ । 

आइएमइ ग्रुपअन्तर्गतको आइएमइ जनरल इन्स्योरेन्सले समीक्षा अवधिको बीमालेखको अनुसूचि नै विभागमा नपठाइ बीमाङ्क कायम गरी प्रिमियमबापत्को रकम दाबी गरेकाले रोकिएको विभागले जनाएको छ । 

कुन कम्पनीको कति बीमाङ्क कटौँती ? 



कटौतीपछि कुन कम्पनीले कति पाए बीमा शुःल्क ?

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले जारी गरेका कृषि तथा पशुपंछी बीमालेखमा सरकारले सहुलियत रकम ७ करोड ४९ लाख ८८ हजार बढी भुक्तानी गरेको छ । 

तत्कालिन समयमा सञ्चालित २० वटा कम्पनीमध्ये १८ वटा कम्पनीले यो रकम पाएका हुन् । जनरल इन्स्योरेन्सले कृषि तथा पशुपंछी बीमा जारी गरेको छैन भने आइएमइ जनरल इन्स्योरेन्सले बीमालेख बिक्री गरेको अनुसूचि बुझाउन नसक्दा भुक्तानी रोकिएको हो । 

१८ कम्पनीमध्ये सबैभन्दा बढी भुक्तानी शिखर इन्स्योरेन्सले पाएको छ । यसले ४ करोड ८० लाख ८१ हजार भुक्तानी पाएको छ । त्यस्तै दोस्रोमा प्रभु इन्स्योरेन्सले ५६ लाख ८४ हजार भुक्तानी पाएको छ । 

यस्तो छ अन्य कम्पनीले पाएको भुक्तानी विवरण



विभाग भन्छ, अस्वभाविक बीमाङ्क देखिएपछि कटौती भयो

कृषि तथा पशुपंछी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले कम्पनीहरुले पेश गरेको बीमाङ्क रकम अस्वभाविक बढी देखिएपछि कटौती गरिएको स्पष्ट पारेको छ ।

बीमा गरिने वस्तुको बीमाङ्कको आधारमा प्रिमियम (बीमा शुल्क) कायम हुन्छ । सोही कायम भएको रकमको ८० प्रतिशत रकम विभागले भुक्तानी गर्छ । विभागले उक्त रकम भुक्तानी गर्ने क्रममा बीमालेखको बीमाङ्क अस्वभाविक बढी देखिन आएको भन्दै बीमाङ्क घटाएर सोही अनुसार कायम हुन आउने प्रिमियम भुक्तानी गरेको जनाएको छ । 

यसले ‘क्रस भेरिफाइ’ गरी सोही अनुसार कायम हुन आएको बीमाङ्क अनुसारको प्रिमियम भुक्तानी गरिएको विभागका एक उच्च कर्मचारीले बिजपाटीलाई बताए । उनले भने, ‘सरकारले उपलब्ध गराउने तथ्याङ्कको आधारमा लागत निकाली बीमाङ्क कायम गर्नुपर्ने हुन्छ, जारी बीमालेखमा सरकारले उपलब्ध गराउने तथ्याङ्कको तुलनामा अत्याधिक बढी लागत देखाइ बीमाङ्क कायम भएको पाइयो ।’

उनले बजार अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन कार्यक्रमबाट तयार भएको विभिन्न बालीहरुको लागत अनुमानको आधारमा जाँच गरी बीमाङ्क कायम गरिएको पनि जानकारी दिए । 

यता कम्पनीहरु भने विभागले आधार मानेको तथ्याङ्क अहिलेको वैशाखदेखि मात्रै लागू भएको र पहिलाकोमा सोही निर्णय कार्यन्वयन गर्न नपाउने बताउँदै आएका छन् । विगतमा पनि सरकारले उपलब्ध गराउने तथ्याङ्ककै आधारमा लागत अनुमान गरी बीमाङ्क कायम गर्नुपर्ने व्यवस्था रहेको हुँदा उक्त तथ्याङ्कलाई आधार मानिएको विभागको दावी छ । 

‘बीमालेखमा सरकारले उपलब्ध गराएको तथ्याङ्कको आधारमा लागत अनुमान गर्नुपर्ने व्यवस्था छ, तर बजार अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन कार्यक्रमबाटै कायम भएको आधारमा लागत अनुमान गर्ने भन्ने स्पष्ट व्यवस्था थिएन, यद्यपि यो तथ्याङ्क पनि सरकारले नै उपलब्ध गराउने हो । यही आधारमा ‘क्रस चेक’ गरी बीमाङ्क कायम गरिएको हो’, विभागका ती अधिकरीले भने । 

सरकारले २०७० साउन १ गतेदेखि कृषि तथा पशुपंछी बीमाको बीमा शुःल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको थियो । २०७१ साउन १ मा यस्तो शुःल्क बढाएर ७५ प्रतिशत पुर्याएको थियो र आर्थिक वर्ष २०७८÷७९ को बजेट बक्तव्यबाट ५० प्रतिशतमा झारिएको थियो । पुन ०७८ को असोज ७ गतेदेखि लागू हुने गरी ८० प्रतिशत कायम गरिएको छ । 

यसरी गरिन्छ निर्धारण 

यसको सहजिकरण बीमा प्राधिकरणले गर्दै आएको छ । प्राधिकरण समक्ष दावी भुक्तानीका लागि तोकिएको अवधिमा भएको बाली बीमाको विवरण (कृषकको नाम, ठेगाना, बीमालेख नम्बर, बीमा रकम, बीमा शुःल्क र अनुदान रकम) माग गरेको थियो । 

बीमालेखको अनुसूचीको प्रति तथा बीमितले बीमा शुःल्कको २० प्रतिशत रकम तिरेको रसिदसमेत माग्छ । सोही अनुसार प्राधिकरणले आवश्यक प्रमाण पुर्याएपछि कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले अनुदान पठाउने गर्छ ।

बीमा शुःल्क बीमाङ्कको केही प्रतिशत रकम हो जुन, बीमालेखमा तय गरिएको हुन्छ । अधिकांश बालीको बीमा शुःल्क बीमाङ्कको ५ प्रतिशत हुन्छ । तर कतिपयको फरक–फरक पनि हुन्छ, जस्तो अदुवाको हकमा बीमाङ्कको ७ प्रतिशत बीमा शुःल्क कायम गरिएको हुन्छ । 

त्यस्तै पशुतर्फ माछाको हकमा बीमाङ्कको २ प्रतिशत बीमा शुःल्क कायम गरिएको हुन्छ भने बाख्राको हकमा उसको उमेर हेरेर बीमाङ्कको ५ देखि ७ प्रतिशतसम्म हुन्छ । बीमाङ्कको कति प्रतिशत बीमा शुःल्क लिने भन्ने बीमालेखमा स्पष्ट उल्लेख गरेको हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved