जीवन बीमा व्यवसायको आधा हिस्सा बागमतीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 04:16:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको आधा हिस्सा बागमती प्रदेशमा रहेको पाईएको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल २९ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये करिब आधा रकम बागमती प्रदेशबाट संकलन भएको छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये ४९.०६ प्रतिशत रकम अर्थात १४ अर्ब २९ करोड ३० लाख सात हजार रुपैयाँ बागमतीबाट संकलन भएको छ । 

प्रदेशगत अवस्था हेर्दा कर्णालीको हिस्सा एकदम न्युन देखिएको छ । भदौ मसान्तसम्म कर्णाली प्रदेशबाट जम्मा ७७ करोड ८ लाख चार हजार रुपैयाँ मात्र बीमा शुल्कबापत संकलन भएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशबाट कुल बीमाशुल्क एक अर्ब ५१ करोड ५३ लाख ७० हजार रुपैयाँ संकलन हुँदा मधेश प्रदेशबाट दुई अर्ब ३७ करोड ८८ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ । 

धेरै बीमाशुल्क संकलन हुने प्रदेशको दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । जहाँबाट भदौ महिनासम्म कुल तीन अर्ब ९४ करोड ९७ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । तेस्रो स्थानमा रहेको कोशीबाट कुल ३ अर्ब ४३ करोड ८५ लाख छ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसैगरी, गण्डकी प्रदेशबाट दुई अर्ब ७८ करोड ६० लाख १५ हजार रुपैयाँ संकलन भएको प्राधिकरणले उल्लेख गरेको तथ्यांकले देखाउँछ । 

यस्तै, भदौ मसान्तसम्म सक्रिय जीवन बीमाको बीमालेख संख्या एक करोड ३४ हजार ५३ लाख १६६ वटा छन् । जसमध्ये बागमतीमा मात्रै ९३ लाख ९५ हजार ५७५ वटा सक्रिय जिवन बीमालेख छन् । उक्त अवधिसम्म कर्णालीमा भने जम्मा एक लाख ९३ हजार ८०२ वटा मात्र बीमालेख सक्रिय रहेको तथ्यांकमा उल्लेख छ। 

सक्रिय बीमालेखको आधारमा कोशी दोस्रो स्थानमा छ भने लुम्बिनी र गण्डकी क्रमश तेस्रो र चौथो स्थानमा छन् । कोशीमा १२ लाख ६५ हजार ७५२ वटा सक्रिय बीमालेख हुँदा लुम्बिनी र गण्डकीमा क्रमशः नौ लाख ५३ हजार १५५ र छ लाख १५ हजार ३८५ वटा बीमालेख सक्रिय छन् । 

त्यसैगरी, मधेश र सुदुरपश्चिम क्रमश पाँच लाख ५३ हजार ६७१ र चार लाख ९५ हजार ८२६ वटा बीमालेख भदौ मसान्तसम्म सक्रिय रहेको प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved