राष्ट्रिय जीवन बीमा कम्पनीले पायो जिवन बिमकको प्रमाणपत्र, सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 01:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय जीवन बीमा कम्पनीले नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट जिवन बिमकको प्रमाणपत्र पाएको छ । साबिकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएसँगै बनेको कम्पनीलाई प्राधिकरणले शर्तसहित बिमकको प्रमाणपत्र दिएको बुझिएको छ । 

प्राधिकरणको शर्त बमोजिम कम्पनीले सर्वसाधारणका लागि डेढ अर्बको आईपीओ जारी गर्नुपर्ने भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले विभिन्न ६ शर्तसहित कम्पनीमा रुपान्तरणको स्वीृकति दिएसँगै कम्पनीले उक्त परिमाणको आईपीओ जारी गर्नुपर्ने भएको हो ।

प्राधीकरणले अनुमति प्राप्त गरेको मितिले एक वर्षभित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बिमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेस गर्न कम्पनीलाई निर्देशन दिएको छ । ऐनको दफा ४४ मा बिमकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्ट्याउनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था बमोजिम कम्पनीले कायम गर्नुपर्ने पूँजी ५ अर्बको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोडको आईपीओ जारी गर्नुपर्ने हुन्छ। हाल कम्पनीको १८ करोड १० लाख मात्रै चुक्ता पूँजी रहेको छ । संस्थापकतर्फ नेपाल सरकार अर्थमन्त्रालयका २७.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम कम्पनीमा रुपान्तरण भएको यस कम्पनीलाई कात्तिक १६ गतेको बसेको मन्त्रिपरिषदको बैठकले हाल कायम पूँजीमा नै स‌ंस्थानबाट कम्पनीमा जाने स्वीकृती प्रदान गरेको थियो भने कात्तिक २० गते कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र पाएको थियो ।

कम्पनीमा दर्ता भएर जीवन बिमकको रूपमा दर्ता गरी प्रमाणपत्र पाउँ भनी कम्पनीले प्राधिकरणमा निवेदन दिएको थियो । त्यसका आधारमा प्राधिकरणले विभिन्न ६ शर्तसहित जीवन बीमा कम्पनीको प्रमाणपत्र दिएको हो । कम्पनीलाई शर्तसहित प्राधिकरणले जीवन बिमकको प्रमाणपत्र दिएको कम्पनीका सुचना अधिकारी भोलानाथ घिमिरेले जानकारी दिए ।

प्राधिकरणले तोकेको शर्त बमोजिम कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्नेछ । त्यस्तै कम्पनी रुपान्तरण हुन पहिलाको लेखापरीक्षण गराएर ६ महिनाभित्र पेश गर्न पनि निर्देशन दिइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved