काभ्रेको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसानले उत्पादन गरेको काउलीले बजार नपाएपछि वस्तुलाई खुवाउन थालिएको छ । काउली बेच्ने समयमा बजारभाउ नपाएपछि किसानहरु उत्पादित काउली बस्तुलाई घाँसको रुपमा खुवाउन बाध्य भएका छन् । आँखै अगाडी काउली तोरी सरह फुलेपछि किसान चिन्तित छन् ।
“बेच्ने बेलामा प्रतिकिलो आठ थियो, गाडी भाडा यहाँबाट कालीमाटीसम्म लान प्रतिकिलो पाँच पर्ने र काटेर गाडीसम्म ‘लोड अनलोड गर्दा लाग्ने लागत जोड्दा प्रतिकिलो यहीँ १० सम्म पर्ने भएपछि बेच्नुभन्दा वस्तुभाउलाई नै खुवाउन थालेको छु” किसान ईश्वरीप्रसाद पौडेलले भने । सात रोपनी जग्गामा लगाएको काउली गत वर्षको तुलनामा चार लाख घाटा बेहोर्नु परेको उनको दुखेसो छ ।
२५ वर्षदेखि कृषि पेशामा संलग्न पौडेल अघिल्ला वर्षहरुमा १२ लाखसम्म आम्दानी गर्दै आएका थिए । ‘यसपाला जस्तो घाटा कहिल्यै परेको थिएन’ ‘काउली नबिकेपछि सुकाउने मेशिन बजारमा खोज्दा तीन लाख पर्दोरहेछ, मेशिन किन्न सकिनँ र भैँसी किनेर भैँसीलाई खुवाउन थालेँ’ उनले दुखेसो पोखे ।
बीउ, गोडमेल, कामदारको ज्याला गरी एक लाखभन्दा बढी लगानी गरेर फलाएको काउलीले बजार भाउ नपाएपछि भैँसीलाई खुवाउन बाध्य छन् किसानहरु । यस वर्ष मात्रै सो भेगका किसानले करिब ६० देखि ७० लाखसम्मको काउली बेच्न पाएनन् ।
नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले अहिलेसम्म तेमाल र रोशीमा उत्पादन हुने तरकारी सिधै बनेपामा पुगेर घुमेर फेरि भकुण्डे नै आउने गरेको बताए । “त्यसरी बजारको व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा शहरी विकास अन्तर्गतको परियोजना र बिपी राजमार्ग करिडोर अन्तर्गतको रामेछाप–सिन्धुली–सुनकोशीको मध्यक्षेत्र नमोबुद्धमा तरकारी सङ्कलन केन्द्र बनाउने परियोजनाको विस्तृत अध्ययन हुँदैछ”, तिमल्सिनाले भने, “त्यसले पनि सङ्कलन केन्द्रको लागि ठूलो मद्दत पुग्ने भएकाले अब नगरपालिका एक क्षेत्रमा एक तरकारी पकेट क्षेत्रको घोषणा गरी अगाडि बढ्ने योजनामा रहेको छ ।”