किसानहरुले दूधको पैसा नपाउनुमा बालेन पनि दोषी !

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 14, 2024 | 05:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

किसानहरुले दूधको पैसा नपाएको भन्दै आन्दोलन गर्नु परिरहेको छ । चैत २१ गतेसम्म किसानले पाउन बाँकी सबै भूक्तानी उपलब्ध गराउने सहमति भए पनि किसानहरु अझै विश्वस्त हुन सकेका छैनन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार सबै दुग्ध उद्योगले दूध किसानको बाँकी रकम चैत २१ भित्र भूक्तानी गर्ने सहमति भएको छ । तर, किसानहरु आश्वस्त हुन सकिरहेका छैनन् । 

यता, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि दुग्धजन्य पदार्थको खपत नबढी भूक्तानी दिन नसकिने आशय व्यक्त गरेको छ । उसले दुग्धजन्य पदार्थको खपत बढाउन सार्वजनिक अपिल नै जारी गरेको छ ।

डेरी सञ्चालकहरु पनि अहिले दूधको खपत घटेको बताउँछन् । दूध र दुग्ध पदार्थको खपत घट्नुमा मुख्य गरि काठमाडौँ महानगरपालिका कारक देखिएको डेरी सञ्चालकहरुको बुझाई छ । महानगरपालिकाका मेयर बालेन शाहले निम्न मध्यम स्तरका व्यवसायीलाई फुटपाथमा व्यवसाय गर्न नदिएपछि करिब १ लाख त्यस्ता व्यवसायीहरु पलायन भएको र दूधको मुख्य उपभोक्ता नै उनीहरु भएका कारण उनीहरु पलायन भएपछि दूधको खपत घटेको डेरी सञ्चालकहरुको दाबी छ ।

‘फुटपाथ कायम रहनुपथ्र्यो भन्ने हाम्रो भनाइ होइन, तर उचित व्यवस्थापन बिना फुटपाथ र गाडामा व्यवसाय गर्ने हरुलाई हटाइयो, हाम्रो अनुमानमा यसरी फुटपाथ हटाउँदा निम्न स्तरका १ लाख व्यवसायीहरु पलायन भए’ डेरी एसोसियसनका एक जना पदाधिकारी भन्छन्, ‘डेरीका उपभोक्ता उनीहरु नै थिए । डेरीका उपभोक्ता उच्च स्तरका मान्छे होइनन, निम्न र मध्यम आय स्तरका हुन् । हाई क्लासका मान्छेहरु आफ्ना बालबच्चाहरुलाई दूध, दही, घ्यू, आइसक्रिम खुवाउँदैनन् । जसले खान्थे र खुवाउँथे उनीहरु नै विस्थापित र पलायन भएपछि दूध र दुग्धजन्य पदार्थको खपत घट्यो ।’

त्यस्तै, अहिले महानगरले कवाडी व्यवसायीहरुलाई पनि त्यसैगरि धरपकड गरिरहेकाले दूधको खपत अझै घट्ने ति पदाधिकारीको अनुमान छ । किनभने, कवाडी संकलन गर्नेहरु अधिकांश शाकाहारी छन् भन्ने उनको दाबी छ ।

‘कवाडी संकलन गर्नेहरु सबैजसो भेजिटेरियन हुन्छन्, उनीहरुले माछा मासु खाँदैनन्, दैनिक २ सय मिलिलिटर नै किन नहोस्, उनीहरु नियमित दूध दही नै खान्छन्’ ति पदाधिकारीले थपे, ‘अब महानगरका कारण उनीहरु पनि विस्थापित हुँदैछन् । यसपछि दूधको खपत अझै घट्नेवाला छ ।’

यसैगरी, अहिलेको आर्थिक मन्दीले पनि दूध र दुग्धजन्य पदार्थको खपतमा कमी आएको डीडीसीको भनाइ छ । यसकारण १ अर्ब भन्दा बढी पूँजी ‘ब्ल्क’ हुन पुगेको डीडीसीको प्रष्टिकरण छ ।

‘देशको आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ता क्रय शक्तिमा देखिएको कमीका कारण बजार खपतमा गिरावट आउँदा दैनिक रुपमा संकलन हुने कच्चा दूधलाई कन्भर्सन गरी मौज्दात राख्नु परिरहेकाले १ अर्बभन्दा बढी पूँजी ब्लक हुन जाँदा नगद चक्र विथोलिएकाले किसानलाई नियमित भूक्तानी हुन सकिरहेको छैन’ डीडीसीले भनेको छ ।

यता, डेरी सञ्चालकहरु भने यो मात्रै नभई युवा पलायन बढ्दा खाने मुख नै घटेको बताउँछन् । दूध, दही, पनिर, आइसक्रिम, मिठाई लगायतका दुग्धजन्य उत्पादन धेरै खाने युवाहरु विदेश जाने दर बढेकाले पनि दूधको खपत कम हुन गएको र फलस्वरुप डेरी उद्योगहरुले समेत आफ्ना उत्पादनहरु स्टक राख्नु परेको डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

उनका अनुसार केही समय अघि गाई वस्तुमा फैलिएको ‘लम्की स्किन’ रोगले पनि दूध खाने जनसंख्या घटाएको छ । रोग लागेको गाइको दूध खानु हुँदैन भनेर त्यतिबेला दूध किन्न छोडेका मानिसहरुले अहिले पनि यो रोग पूर्ण रुपमा निर्मुल भइसक्यो भन्ने विश्वास नगर्दा अझै उनीहरुले दूध नखाइरहेको अध्यक्ष दाहाल बताउँछन् ।

‘यस्तो जनसंख्या २ देखि ३ प्रतिशत छ भन्ने हाम्रो अनुमान छ’ उनले भने, ‘त्यतिबेला त्रासले खान छोडे, अहिले पनि त्यो त्रास उनीहरुमा कायमै छ । हामीले रोग हटिसक्यो भन्ने विश्वास नै दिलाउन सकेनौँ । सरकारले पनि भनिदिएन ।’ 

यो पनि : बालेनको डोजरले बैंकिङ प्रणालीकै ‘चेन ब्रेक’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved