निजि क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाउने निर्णय गरेका छन। नेपाल आयल निगमले गत शुक्रबार मङ्सिर २१ गतेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले हवाई भाडा दर बढाउने निर्णय गरिएको जनाइएको छ।
बढेको भाडा डर मंगलबार (मंसिर २६ गते) बाट लागू हुने छ। निगमले शुक्रबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ८७ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीहरूले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्।
वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो। बढेको भाडा दर पर्सी मंगलबारबाट कार्यान्वयन हुने भएकाले सोमबारसम्मलाई पुरानै भाडा दरमा उडान गर्न पाइनेछ।
बढेको भाडा दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार ५० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ३ सय २० रुपैयाँ तिर्नुपर्ने छ ।
जसअनुसार सिमराका लागि ४५ रुपैयाँ र धनगढीका लागि २ सय २० रुपैयाँ बढी लाग्ने छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । सबै भाडा दर सामान्य सिटका लागि हुन।