नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् ।
निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा डेरा सारेको भनीएपनि दुई बर्ष अघि नै प्रचण्डले ललितपुरमा विशाल बंगला किनेको खुलासा भएको छ। प्रचण्डले खुमलटारमा ‘भगवती भिल्ला’ नाम गरेको बंगला पुर्व सभासद ल्यारकाल लामाको सहयोगमा किनेको बताइएको छ। लामा झलनाथ खनाल प्रधानमन्त्री हुँदा राज्यमन्त्री समेत भएका थिए।
पुत्र प्रकाश दाहालका लागि किनेको बंगलामा प्रचण्ड अहिले आफै सरेको स्रोतको भनाई छ। 'ललितपुर स्थित भवन प्रचण्डले प्रकाशका लागि किनेका हुन, तर अहिले पुत्रको मृत्यु भएपछी उक्त बंगलामा आफै सरेका छन' स्रोतको भनाई छ।
माओवादी पार्टीको विगतको नीतिअनुसार शीर्षनेताहरुले निजी घर खरिद नगर्ने प्रचलन छ। सोहि नीति अनुसार नै प्रचण्डले आफ्ना हिसाब किताबको जिम्मा लिएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको नाममा उक्त बंगला खरिद गरेका हुन। प्रचण्डले कम्युटर तथा इलेक्ट्रोनिक्स ब्यापार गर्ने विजयकृष्ण श्रेष्ठसँग उक्त बंगला खरिद गरेका हुन् । यस अघि प्रचण्डको हिसाब किताब विवादास्पद छविका व्यवसायी अजय सुमार्गीले मिलाउँदै आएका थिए।
शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक समेत रहेका अधिकारी ठेक्कापट्टाको काम फाटफुट रुपमा मात्रै गर्ने गरेका छन् । तर, उनको सम्पत्ति दिन दुगुणा, रात चौगुणा बढेको देखेर माओवादीहरु नै तीनछक परेका छन्।
प्रचण्डको हिसाब किताब राख्ने जिम्मा पाएपछि नै उनको सम्पति दिन दुईगुणा रात दश गुणाले बढेको बताइएको छ। पछिल्लो समय अधिकारिले प्रकाश दाहालको खर्च समेत हेर्दै आएको बताइएको छ।
अधिकारि माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् । समानुपातिक सूचीको बन्दसूचीमा उनको नाम ३३ नम्बरमा छ। अधिकारिलाई प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सभासद बनाउने टुंगो लागिसकेको स्रोतको दाबि छ।