नेपाल वायुसेवा निगमले लिलामी गरेको विमान गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले खरिद गरेका छन्। निगमले नाफा भन्दा मर्मत खर्च बढी भएको बताउदै लिलामी गरेको ९एन-एसीए कलसाइनको बोइङ-७५७ विमान भट्टले १४ लाख ६० हजार अमेरिकी डलरमा सकारेका हुन।
लिलाम सकार्नका लागि अग्रिम भुक्तानी बापत एक करोड ५० लाख रुपैयाँ बुझाएका भट्टले केहि दिन अघि मात्र बाँकी रकम बुझेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
उक्त विमान मर्मतपछि सञ्चालनमा ल्याउन करिब ८० करोड रुपैयाँ खर्च हुने निगमका अधिकारिहरुले बताए। अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुने उनिहरुको भनाई छ।
निगमले सन् १९८७ मा खरिद गरेको विमान २०७२ चैत देखि ग्राउन्डेड भएर थन्किएको थियो। यस बिमानलाई निगमले १७ करोडमा बिक्रि गर्ने योजना बनाएपनि तोकिएको रकम कसैले पनि कबोल नगरेकाले निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बिक्री गरेको हो।