नेपाल राष्ट्र बैंकले वाणिज्य वैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न भनेपनि वैंकहरुले नगरेको पाईएको छ । वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महिनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेका छन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कूल कर्जाको न्यूनतम दश प्रतिशत लगानी गर्नुपर्नेमा वैंकहरुले ९ दशमलव ९३ प्रतिशत लगानी गरेको जनाएको छ ।
राष्ट्र बैंकले उर्जा र पर्यटनमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेपनि बैंकले ऊर्जामा ४ दशमलव २१ प्रतिशत र पर्यटनमा ४ दशमलव ४० प्रतिशत मात्रै लगानी गरेका छन् ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा पर्यटन क्षेत्रमा समेत उल्लेख्य लगानी हुन नसकेको राष्ट्र बैंकको विवरणले देखाएको छ ।
यस्तै आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा पनि ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरुको लगानी सामान्य देखिएको छ ।
प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएबमोजिम कर्जा लगानी नभएपनि चालू आवको छ महीनामा १८ अर्ब ६१ करोड बराबरको सहुलियतपूर्ण कर्जा भने लगानी भएको छ । सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १० हजार ४८४ छ । उनीहरुले ८८ करोड ७७ लाख बराबरको ब्याज अनुदानसमेत प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै विपन्न वर्ग कर्जातर्फ चालू आवको छ महीनामा एक खर्ब ६१ अर्ब ३६ करोड बराबरको लगानी भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कूल कर्जा लगानीको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । कूल कर्जाको ५ दशमलव ९ प्रतिशत सो क्षेत्रमा लगानी भएको छ ।