सुनकोसी–मरिण डाइभर्सन आयोजनामा रामेछापका माझी समुदायको १३ बुँदे विमती (बुँदासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 03:16:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनकोसी मरिण डाइभर्सन परियोजनाबाट प्रभावित हुने क्षेत्रमा रहेका रामेछापका माझी समुदायले १३ बुँदे विमती जनाएका छन् । सिन्धुलीको मरिणक्षेत्रमा पानी लैजाने उदेश्यले निर्माणको प्रक्रियामा नै रहेको आयोजनासँग प्रभावित क्षेत्रका माझी समुदायले आन्दोलनको चेतावनीसहित रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई १३ बुँदे विमती बुझाएका छन् । 

माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै क्षतिपूर्ति मुआब्जा वितरण समितिमा माझी समुदायको प्रतिनिधित्व हुनुपर्ने, उचित मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग उनीहरुको छ । 

‘डुबान क्षेत्रमा बसोबास गर्नेमध्ये ९० प्रतिशत हामी अति सिमान्तकृत माझी समुदायका छौँ । तर, माझी समुदायको प्रभावकारी प्रतिनिधित्वबिना निर्धारण गरिएको डुबान क्षेत्र र नेपाल सरकारबाट २०७७ भदौ २८ गते प्रकाशित जग्गा प्राप्तिसम्बन्धी सूचनाबारे हामी अन्योलमा छौँ । त्यसरी नै हाम्रो प्रतिनिधित्वबिना मुआब्जा निर्धारण समितिबाट तय गरिएको मुआब्जाको दररेटमा पनि हाम्रो असहमति रहेको छ’ उनीहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

आफूहरुका माग १५ दिनभित्र सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् ।

यस्ता छन् मागः

१. सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनासम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन लगायतका जानकारी प्रभावित समुदायले बुझ्ने भाषामा उपलब्ध गर्नुपर्ने ।

२. प्रभावित आदिवासी माझी र अन्य समुदायसँग अर्थपूर्ण परामर्श गरी आयोजनाबाट समुदायलाई असरपर्ने निर्णयहरु प्रभावित समुदायको स्वतन्त्र, अग्रिम र सूचित मन्जुरी लिनुपर्ने ।

३. आयोजनाबाट लालपुर्जा भएको वा नभएको घरजग्गासहित नदी, बगर  र समुदायको अन्य भूमि र स्रोत–साधनमा पर्ने असर र जग्गा अधिग्रहणको विषयमा प्रभावित समुदायमा अन्योल र असहमति रहेको हुँदा आयोजनाले  असर गर्ने वा अधिग्रहण गरिने घर–जग्गा र जमिनको बारेमा सम्बन्धित समुदायको सहमागितामा पुनःफिल्ड सर्भे गरी उचित मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्नुपर्ने । विशेषतः मुआब्जा निर्धारण समितिमा प्रभावित समुदायकै प्रतिनिधित्व हुनुपर्ने ।

४. घरजग्गा अधिग्रहण गर्नैपर्ने भए प्रभावित परिवारको इच्छाअनुरुप अधिग्रहण गरिने घर–ग्गाको मुआब्जाको लागि समान प्रकृति र मूल्यको घर–जग्गा सट्टामा दिने व्यवस्था गर्नुपर्ने । त्यसरी नै प्रभावित आदिवासी माझी समुदायले परम्परादेखि भोगचलन गरी आएको लालपुर्जा नभएको घर–जग्गा, गोठ, जिमन र स्रोत–साधनको पनि उचित व्यवस्था हुनुपर्ने ।

५. अधिग्रहण गरिने घरजग्गा,  जमिन डुबानमा नपरेसम्म प्रभावित समुदायले प्रयोग गर्न पाउनुपर्ने र डुबानबाट प्रभावित हुने बाली, रुख–बिरुवाको पनि उचित क्षतिपूर्ति दिइनुपर्ने ।

६. प्रभावित क्षेत्रको प्रत्येक घर–परिवारलाई आयोजनामा सीप र क्षमताको आधारमा एक घर एक रोजगारीको व्यवस्था गर्नुपर्ने । ती प्रभावितको क्षमता बढाउन आयोजनाबाट निःशुल्क तालिम व्यवस्था हुनुपर्ने ।

७. आयोजनालाई कम्पनीमा लगि प्रभावित आदिवासी माझी र प्रभावित स्थानीय बासिन्दालाई निःशुल्क आयोजनाको सेयर र त्यसबाट उत्पादन हुने बिजुली वितरण गरिनुपर्ने ।

८. आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका स्थानीय सरकारलाई दिइने रकम विशेष गरी प्रभावित आदिवासी माझी र स्थानीय समुदायको हित हुने कार्यक्रममा ती समुदायकै सहभागितामा प्रयोग गर्नुपर्ने । विशेषतः डुबान क्षेत्रमा शिक्षा, स्थास्थ्य, यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका विकासका पूर्वाधार निर्माण गरिने नमुना बस्ती विकास गरिनुपर्ने । साथै, डुबान क्षेत्र वरिपरि रहेका गाउँबस्ती, जग्गा–जमिन, विद्यालयलगायतका भौतिक पूर्वाधारको सुरक्षाको लागि आवश्यक सर्वेक्षण गरी पक्की पर्खाल निर्माण गरी संरक्षण गरिनुपर्ने ।

९. आयोजनाबाट स्थानीय र प्रदेश सरकारलाई प्राप्त हुने २५र२५ प्रतिशत राजस्व प्रभावित आदिवासी जनजाति माझी र स्थानीय समुदायको हितको लागि प्रभावित समुदायकै सहभागितामा प्रयोग गरिनुपर्ने ।

१०. आयोजनाबाट बन्ने जलाशयमा प्रभावित आदिवासी माझी समुदायको परम्परागत सीप र जीविकोपार्जन संरक्षण हुने गरी प्रभावित माझीहरुकै स्थानीय समितिमार्फत पर्यटकीय र डुंगा चलाउने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र त्यसको लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने ।

११. आयोजनाबाट प्रभावित आदिवासी माझी समयदायका घाछहरु (डुंगा तार्ने र जात्रा गर्ने स्थान) डुबानमा पर्नेलगायत तिनको संस्कृतिमा गम्भीर नकारात्मक असर पर्ने कुराको मूल्याङ्कन नभएको हुँदा प्रभावित समुदायकै सहभागितामा सांस्कृतिक प्रभाव मूल्याङ्कन गरिनुपर्ने । आयोजनाबाट समुदायकै सहभागितामा माझी जातिको संस्कृति, भाषा र वेशको जगेर्ना गर्न कार्यक्रम कार्यान्वयन गर्नुपर्ने । विशेषतः माझीहरुको पितृ चढाउने स्थल, माछा मार्ने ठाउँको व्यवस्था गरिनुपर्ने । साथै, मठमन्दिर, धार्मिकस्थल, पाटीपौवालगायत सार्वजनिक स्थलको उचित संरक्षण र विकास गरिनुपर्ने । १२. आयोजनाबाट प्रभावित क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिकको संरक्षण र विकासको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने ।

१३. आयोजनाको कार्यान्वयनको क्रममा आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ लगायत अन्य अन्तर्राष्ट्रिय कानुनबमोजिम आदिवासी माझी र स्थानीय समुदायको अधिकार सुनिश्चित गरिनुपर्ने । विशेषतः स्थानीय स्रोत–साधनमा प्रभावित आदिवासी माझीको विशेष अधिकार कायम हुनुपर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved