काठमाडौँमा ‘मेट्रो रेल’ चलाउन असम्भव

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 28, 2021 | 02:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

‘काठमाडौँमा मेट्रो रेल चलाइन्छ’ भन्ने नेताहरुको भाषण बिना अध्ययन मुखबाट प्वाक्क निस्किएको शब्द हो भन्न अब चाहिँ हिचकिचाउनुपर्ने अवस्था रहेन । किनकी, सरकारले नै ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’ चलाउन नसकिने निष्कर्ष निकालेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दा गरिएको अध्ययनले २०१२ मा भएको ‘सम्भाव्यता अध्ययन’अनुसार सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक (महाराजगञ्ज) खण्डका एलिभेटेड मेट्रो चलाउन नसकिने निष्कर्ष निकालेको हो ।

एलिभेटेड रेल सडकमाथि आकाशे पुल जस्तो संरचना बनाएर चलाईने सवारी साधन हो । यसैगरी यही प्रविधि र यस्तै संरचना बनाएर काठमाडौँमा मेट्रो रेल चलाउन अध्ययन भएपनि नसकिने निष्कर्ष निकालिएको हो । 

रेल विभागले कोरियन कम्पनीले ९ वर्षअघि तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार काम गर्न पर्याप्त जमिन नभएको बताएको छ । उक्त रेल चलाउने भनिएको खण्डमा पर्ने लाजिम्पाट लगायतका क्षेत्रमा भएको २ लेनको सडकको बीचमा पिल्लर राख्दा सडक झन साँघुरो हुने र जाम बढ्ने भएकाले यो सम्भव नभएको विभागको निष्कर्ष छ ।

'सम्पदा मासिने गरी रेलमार्ग बनाउने कुरा आएन'

सडक साँघुरो हुने मात्रै नभई काठमाडौँ मन्दिर र सम्पदा उल्लेख्य भएको क्षेत्र हो । यहाँका सम्पदा मासिने भएकाले पनि उक्त रुटमा मेट्रो सञ्चालन असम्भव देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोत बताउँछ । 

अहिले भएका सडकमै बीचमा पिल्लर हालेर रेलमार्ग बनाउन नसकिने, थप जग्गा लिँदा सम्पदा मासिने र जग्गाको मुआब्जा पनि निकै महँगो हुने भएकाले असम्भव देखिएको मन्त्रालय स्रोत बताउँछ । 

मच्छिन्द्रनाथ लगायतका जात्रामा अग्ला रथहरु बनाएर तान्ने प्रचलन रहेको र मेट्रो मार्ग बनाएपछि त्यो सम्भव नहुने भएकाले पनि मेट्रो चलाउने योजना तत्काल सम्भव नदेखिएको बताइन्छ । 

के भन्छिन् मन्त्री ?

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव जति नै प्रयास गर्दापनि काठमाडौँमा मेट्रो रेल चलाउन सम्भव नदेखिएको बताउँछिन् । केही दिन अघि मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै यादवले जग्गा प्राप्ती र संरचना भत्काएर मेट्रो चलाउन सम्भव नदेखिएको बताएकी हुन् ।

‘काठमाडौंमा मेट्रो रेल चलाउने भन्ने कुरा लामो समयदेखि उठेको कुरा हो, तर मन्त्रालयले तत्कालका लागि असम्भव भनेको छ’ उनले भनिन्, ‘मेट्रोको सोच भएपनि त्यसका लागि जग्गा प्राप्ति र संरचना भत्काउन सक्ने अवस्था देखिएन ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved